राप्ती प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्ने तयारी

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

 

दीपक बोहरा

तुलसीपुर ३, कात्तिक ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई तत्काल दुई सय बेड बनाउने तयारी गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माका अनुसार तत्काललाई सेकेन्डरी ‘बी’ लेभलको अस्पताल बनाउन लागिएको उहाँले बताउनुभयो । “अहिले ५० सैयाको अनुमति हो, तर हामीले ९५ सैया चलाईरहेका छौं”, उहाँले भन्नुभयो “अबको केही समयमा डेढसयदेखि दुई सय सैयाको बनाउने गरि तयारी भएको छ ।”

साथै ६ सय बेडको बनाउनकालागि डीपीआर गर्ने तयारी रहेको समेत उहाँको भनाइ छ । अबको केही समयमै त्यसको डीपीआर तयार हुने समेत उहाँले बताउनुभयो । अहिले ५० सैयाको अस्पताल भएपनि ९५ सैयाको सञ्चालन गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले अस्पतालमा जनशक्ति पनि प्रयाप्त भएको डा शर्माको भनाइ छ ।

उहाँका अनुसार मानसिक रोग बिशेषज्ञ र नाक,कान, घाँटी रोग बिशेषज्ञ बाहेक अन्य सबैमा बिशेषज्ञ चिकित्सक रहेका छन् । तर, नर्सिङ तर्फका कर्मचारी भने अभाब रहेको उहाँको भना छ ।“अहिले डाक्टरको संख्या प्रयाप्त छ, प्रयाप्त डाक्टरहरु भएको सन्दर्भमा डाक्टरहरुलाई सघाउन नर्सहरुको माग उत्तिकै हुन्छ”, उहाँले भन्नभयो “ तर, चौविसै घण्टा विरामीको साथमै रहने नसिंङ तर्फका कर्मचारीको भने अभाब छ ।” अहिले फार्मेसीले पनि फार्मसिष्टहरुबाटै सञ्चालनमा आएको समेत उहाँको भनाइ । फार्मेसी पनि नाफामै रहेको डा शर्माले बताउनुभयो ।

सीटी स्क्यान सेवा सुरु
अस्पतालमा शनिबारदेखि सीटी स्क्यान सेवा समेत सञ्चालनमा ल्याएको छ । आईतबार एकजनाको सीटी स्क्यान समेत गरिएको छ । सीटी स्क्यान सेवा सुरु भएपछि अब जिल्लामै सहजै यो सेवा प्राप्त गर्नेछन् । पूर्वाधार सबै जडान भएर सेवा सुरु भएको हो । यसको विधिवत उद्घाटन भने दशै तिहारको बीचमा गरिनेछ । अस्पतालमा गएको बर्ष विशेष नबजात हेरचाह ईकाइ सञ्चालनमा ल्याएको छ । गएको आर्थिक बर्ष २०७६-०७७ मा ३७ जनाले सेवा लिएका छन् ।

कोरोनाले घटे विरामी
कोरोनाका कारणले गएको बर्ष सेवा लिने विरामीको संख्या भने घटेको छ । गएको आर्थिक बर्ष २०७६-०७७ मा ५१ हजार तीन सय ५० विरामीले सेवा लिएका छन् । अघिल्लो आर्थिक बर्ष २०७५-०७६ मा ५३ हजार तीन सय ५४ जनाले सेवा लिएका थिए । लकडाउनको समयमा ओपीडी सेवा बन्द भएकाले पनि विरामीको संख्या घटेको हुन सक्ने उहाँको भनाई थियो । तर, आपतकालिन सेवा लिने विरामी भने बढेका छन् । गएको आर्थिक बर्षमा १६/३७ प्रतिशतले आपतकालिन सेवा लिएका छन् ।

अघिल्लो आर्थिक बर्षमा १६।११ प्रतिशतले आपतकालिन सेवा लिएका थिए । गएको बर्ष सुत्केरी सेवा लिनेको संख्या भने बढेको उहाँको भना छ । उहाँका अनुसार गएको आर्थिक बर्ष २०७६-०७७ मा तीनहजार पाँचसय ८५ जनाले सुत्केरी सेवा लिएका थिए । यो अघिल्लो बर्षको तुलनामा बढि रहेको र यसले सुत्केरी सेवा प्रभाबकारी बनेको प्रष्ट हुने समेत डा। शर्माको भनाई छ । अघिल्लो आर्थिक बर्षमा दुईहजार नौ सय ८४ जनाले सेवा लिएका थिए ।

अस्पतालको खातामा ४६ लाख बढि बचत
अहिले अस्पतालको खातामा ४६ लाख बढि बचत रहेको डा शर्माले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक बर्ष २०७५र०७६ मा १० लाख ९२ हजार रहेको थियो । अस्पतालको खातामा रहेको उक्त रकमबाट अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीलाई तलब खुवाउन सहज भएको समेत उहाँको भनाइ छ ।

गएको आर्थिक बर्ष २०७६-०७७ मा पुँजीगत खर्च ५० प्रतिशत खर्च भएको छ, भने चालु खर्च ७३ प्रतिशत खर्च भएको छ । योगा भवन, पेडिएट्रिक भवन, एम्बुलेन्स खरिद गर्ने गरि बजेट आएपनि कोरोनाको महामारीले गर्दा खरिद गर्न नसकिएकाले पुँजिगत खर्चमा कमी आएको हो ।

क्वाटर अभाब
अस्पतालमा कार्यरत कर्मचारीकालागि क्वाटर अभाब भएको डा  शर्माले बताउनुभयो । सिस्टर र डाक्टरहरुका लागि क्वाटर निर्माण भएको भएपनि त्यो अप्रयाप्त भएको उहाँको भनाइ छ । १२ कोठाको सिस्टर क्वाटर र ८ कोठाको डाक्टरको क्वाटर निर्माण भएको र हस्तान्तरणको तयारी भएपनि त्यतिले मात्रै नपुग्ने उहाँले  बताउनुभयो । “ ४०र४५ जना सिस्टर हुनुहुन्छ”, उहाँले भन्नुभयो “डाक्टरको क्वाटरले कहि, कतैबाट मिलाउन सकिएला तर, सिस्टर क्वाटर मिलाउन समस्या होला ।”

अस्पतालको ६ विघा जग्गा
अस्पतालको ६ विघा १६ कठ्ठा जग्गा छ । ती मध्ये केही जग्गा अतिक्रमणमा परेको उहाँले बताउनुभयो । अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याईने समेत उहाँको भनाइ छ ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech