बाँकेमा यसरी फैलिँदै छ कोरोना

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

नेपालगन्ज २, कात्तिक ।
गएको बुधवार बाँकेका तीनवटा पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो । तीमध्ये २८ जना बाँकेकै थिए । २७ जना भने बाहिरी जिल्लाका थिए । २८ जनालाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पहलमा लक्षण चिन्ह देखिएकालाई कोभिड विशेष अस्पताल र लक्षण चिन्ह नदेखिएकालाई संस्थागत तथा होम आइसोलेसनमा राखियो ।

तर बाहिरी जिल्लाका २७ जना मध्ये अधिकांश कहाँ छन् अहिलेसम्म थाहा छैन् । त्यसको दुई दिनपछि शुक्रबार यीनै प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा भाइरस संक्रमण पुष्टि भयो । तीमध्ये बाँकेका ३७ जना थिए भने बाहिरी जिल्लाका संक्रमण पुष्टि भएकाहरुको संख्या ५७ थियो । शनिवार पनि यी प्रयोगशालामा गरिएको परीक्षणमा ५५ जनामा कोरोना पोजेटिभ देखियो । त्यसमा बाँकेका ३८ जना थिए । १७ जना बाहिरी जिल्लाका छन् ।

केन्द्रले बाँके ठेगाना उल्लेख भएका र रोजगारीका शिलशिलामा यही बस्दै आएकाहरुको टे«सिङ गर्ने गरेको छ । र, कोरोना संक्रमण पुष्टि भए उनीहरुलाई आइसोलेसन व्यवस्थापन समेत केन्द्रले नै गर्दै आएको छ । तर यात्राका क्रममा बाँके आएका बेला पीसीआर परीक्षण गर्ने र रिपोर्ट पोजेटिभ आएका त्यस्ता व्यक्तीहरुलाई सम्वन्धीत जिल्लाकै केन्द्रहरुसँग समन्वय गर्ने गरिएको छ । तर बर्दियाबाहेक अन्य जिल्लाबाट रेसपोन्स सन्तोषजनक छैन् । उनीहरुको टे«सिङ गर्नै समस्या रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

‘विहान बाँकेमा स्याम्पल दिनुहुन्छ श्रेठले भन्नुभयो–‘साँझ दाङ, कैलाली, जुम्ला पुग्नु भएको हुन्छ कसरी टे«सिङ सम्भव छ ?’ रिपोर्ट पोजेटिभ आए फोन नउठाउने र मोवाइल अफ गर्ने समेत गरेका छन् । यात्राका क्रममा मात्र होइन अस्थायीरुपमा बाँके बस्दै आएका तर स्थायी ठेगाना अन्यन्त्रै उल्लेख गर्नेको सवालमा पनि उस्तै समस्या देखिएको छ ।

स्वाव दिइसकेपछि उनीहरु रिपोर्ट नआउँदासम्म आइसोलेट हुनु पर्ने हो । तर रिपोर्ट नआउँदै उनीहरु निर्वाध घुमफिर गरिरहेका छन् । जस्का कारण भाइरस संक्रमण भुसको आगो झै फैलिएको छ । त्यस्ता व्यक्तिहरु कतिपय बाँकेमै बस्ने गरेको पाइएको छ । उनीहरु सुरक्षित भएर होमआइसोलेसनमा समेत बसेका छैनन् । कोभिड व्यवस्थापन, नियन्त्रण र निदानमा खटिएका एकजना अधिकारीले भने–‘संक्रमण पुष्टि भएका कतिपय संक्रमित खुलारुपमा हिडिरहेका छन् ।

किनमेलका लागि उनीहरु पसलमा समेत आफै जाने गरेका छन् ।’ फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लाबाहिरका स्थायी व्यक्तीहरुको केन्द्रले टे«सिङ गर्न सक्ने अवस्थै छैन् । रिपोर्ट पोजेटिभ आए उनीहरुलाई त्यही जिल्लामा समन्वय गर्ने काम भएको उहाँको भनाइ छ । केही दिन अघि बर्दिया बासगढीकी एक महिलालाई संक्रमण पुष्टि भयो । नेपालगन्जमा बस्दै आएकी उनी संक्रमण पुष्टि भएपछि गुपचुपरुपमा बस्दै आएकी थिइन् । संक्रमण पुष्टि भएको सुइको घरबेटीले पाएपछि उनलाई तत्काल घरबाट निकालिदिइन् । केन्द्रको पहलमा उनलाई रातारात आर्दशनगरको आइसोलेसनमा व्यवस्थापन गरियो ।

कतिपय त श्वासप्रश्वामा गाह्रो भएपछिमात्र सम्पर्कमा आउने गरेकोले बाँकेमै बसेको थाहा हुने गरेको श्रेष्ठले बताउनुभयो । यसले एकातिर विरामीको स्वास्थ्य अवस्था जोखिममा पारिरहेको छ भने अर्को तर्फ व्यवस्थापनमा पनि चुनौति थपिएको छ । त्यस्तै भाइरस संक्रमणको दर बढाउन समेत बल पुर्याएको छ । प्रयोगशालामा स्वाव लिँदा व्यक्तिीको नाम र फोन नम्वरमात्र राख्ने गरिएको छ । कोरोना पुष्टि भए उनीहरुलाई सम्पर्क गरेर ठेगाना लिने गरिएको छ । यस्ले पनि संक्रमितलाई पछ्याउन गाह्रो छ । केन्द्रले अव स्वाव लिँदा प्रयोगशालाहरुलाई व्यक्तीको नाम, ठेगाना (स्थायी र अस्थायी) र फोन नं. अनिवार्य उल्लेख गर्न लगाउँदै छ ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech