अव एन्टिबडी जाँचेर मात्र प्लाज्मा झिकिने

    • स्वास्थ्य पेज

  • ३० आश्विन २०७७, शुक्रबार

नेपालगन्ज ३०, असोज ।
बाँकेमा अव प्लाज्मादाताहरुको एन्टिबडी जाँच गरेरमात्र प्लाज्मा झिकिने भएको छ । यसअघि प्लाज्मादाताहरुले कोरोना भाइरस संक्रमणमुक्त भएको २८ दिनपछि र तीन महिनाभित्रै प्लाज्माका लागि ब्लड डोनेट गर्दै आएका थिए । उक्त ब्लडबाट झिकिएको प्लाज्मा कोरोनाबाट गम्भीर अवस्थामा पुगेकाहरुलाई चढाउने गरिएको थियो ।

तर एन्टिबडी जाँच नगरेर यसरी चढाइएको प्लाज्माले अपेक्षाकृतरुपमा विरामीको अवस्थामा सुधार नआएको देखिएपछि चिकित्सकहरुको रायका आधारमा प्लाज्मादाताहरुको एन्टिबटी जाँच गर्ने निष्कर्षमा पुगिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्लाज्मा थेरापी उपचारको संयोजन गर्दै आउनुभएका डा खगेन्द्र जंग शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका फिजिसियन तथा प्लाज्मा थेरापी उपचारको संयोजन गर्दै आउनुभएका डा.श्याम विकलगायतसँगको छलफलपछि प्लाज्मा विधि उपचारलाई प्रभावकारी गराउन सुरुमा प्लाज्मादाताको एन्टिबडी जाँच गर्ने निर्णयमा पुगिएको श्रेष्ठले बताउनुभयो ।

उक्त निर्णयलाई जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले समेत अनुमोदन गरिसकेको छ । ‘त्यस्लाई केन्द्रले अनुमोदन गरिसकेको छ श्रेष्ठले स्वास्थ्य पेजलाई भन्नुभयो–‘एन्टिबडी टेस्टका लागि लाग्ने खर्च भने विरामी स्वयमले व्यर्होनु पर्ने छ ।’ भेरी अस्पतालमा एन्टिबडी जाँच गर्नका लागि ल्याव छैन् । त्यसैले नीजि ल्यावमा टेस्ट गर्नुपर्ने छ ।

प्लाज्माका लागि एकजनाको टेस्ट गर्न एक हजार ५ सय रुपैयाँ खर्च लाग्छ । ‘एउटै विरामीलाई प्लाज्मा चढाउन कहिलेकाही तीन चार जनाकै टेस्ट गर्नुपर्ने हुन सक्छ भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.शाहले भन्नुभयो–‘शरिरमा एन्टिबडी बनिसकेकाको मात्र प्लाज्मा झिकिने भएकाले विरामीलाई आर्थिक व्यवभार पर्न सक्छ ।’

कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुको एन्टिबडी लेभल १.६ युनिट भन्दा बढी भएको हुनु पर्छ । तर अहिले एन्टिबडी जाँच नगेरै धमाधम व्लड लिने र विरामीलाई चढाउने गरिएको छ । अहिलेसम्म २५ जनालाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । भेरी अस्पताल नेपालगन्जमा १७ र मेडिकल कलेज कोहलपुरमा ८ जनालाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । तीमध्ये ९ जनामा मात्र प्लाज्मा थेरापी विधि सफल भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट लक्षण चिन्ह देखिएका पूर्वसंक्रमितहरुको एन्टिबडीबाट निकालिएको प्लाज्मामा गम्भीर विरामीलाई चढाउँदा भाइरसलाई पराजित गर्न बल पुर्याएको देखिएको छ । तर लक्षण चिन्ह नदेखिएर भाइरसलाई पराजित गरेकाहरुको शरिरमा एन्टिबडीको लेभल नपुग्ने गरेको देखिएको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech