भेरी अस्पतालले संघबाट पायो ७ करोड, पोष्टमार्टम भवन अत्याधुनिक बनाइने

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

तस्विर : फाइल

नेपालगन्ज २८, असोज ।
सरकारले भेरी अस्पताल नेपालगन्जलाई ७ करोड बजेट विनियोजन गरेको छ । सरकारले चालू आर्थिक बष २०७६/७७ को नीति तथा कार्यक्रममा भेरी अस्पताललाई विशेषज्ञ सेवा दिने गरी स्तरोन्नती गर्ने घोषणा गरेको थियो ।

सोही अनुसार, संघीय सरकारले अस्पताललाई चालु आर्थिक बर्ष ७७-७८ मा ७ करोड रकम विनियोजन गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उक्त रकमलाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा अहिले योजना बनाउने काम भइरहेको अध्यक्ष धितालको भनाइ छ ।

‘मोटामोटीरुपमा योजना बनाइसकिएको छ उहाँले भन्नुभयो–‘बोर्ड बैठक बसेर त्यसलाई औपचारिकता दिने तयारीमा छौं ।’ अस्पतालमा रहेको पोष्टमार्टम ब्लक अत्याधुनिक बनाइने भएको छ । त्यसमा करिव १ करोड खर्च गर्ने तयारी अस्पताल विकास समितिको छ । अस्पतालमा पाँच सय शैयाको क्षमता बढाउने गरी थप डेढ सय शैया खरिद गरिने छ ।

प्रसूतिगृहदेखि सिटि स्क्यानसम्मको बाटोमा ट्रस्ट निर्माण गर्ने, आवश्यक उपकरणदेखि अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउने तयारीमा अस्पताल विकास समिति छ । अस्पतालमा २६ विभाग छन् ।

ती विभागलाई चाहिने उपकरण, जनशक्तिलगायतको व्यवस्थापन यही बजेटमा गरिने अध्यक्ष धितालले बताउनुभयो । अस्पतालले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने भएको छ । त्यसकालागि ७० लाख बजेट विनियोजन गरिने पनि अध्यक्ष धितालले बताउनुभयो । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पताललाई अत्याधुनिक अस्पतालका रुपमा मात्र विकास नगरेर यहाँबाट प्रवाह गरिने सेवालाई पनि अत्याधुनिक र गुणस्तरीय बनाइने समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, सबै नागरिकले सहज तरिकाले सेवा पाउने गरी अस्पताललाई विकास गरिने छ । अस्पतालले यही कार्तिक एक गतेदेखि इर्मेजेन्सी सेवा निःशूल्क गर्ने घोषणा गरिसकेको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech