पैसाका नोट र फोन स्क्रीनमा २८ दिनसम्म जीवित रहन सक्छ कोरोना भाइरसः अध्ययन

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

बिबिसी- कोभिड–१९ का भाइरस बैंक नोट, फोन स्क्रीन र स्टेनलेस स्टीलमा २८ दिनसम्म जीवित रहनसक्ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका अनुसार यसअघि अनुमान गरिएभन्दा बढी समयसम्म सार्स–कोभिड–२ भाइरस जीवित रहन सक्छन्।

यद्यपि यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो। हालै गरिएको एक अध्ययनमा पराबैजनी प्रकाशको प्रयोगबाट यो भाइरस नष्ट हुने पाइएको थियो। तर कुनै चिजको सतहमा रहने भाइरसले मानिस संक्रमित हुने सम्भावना कति छ भन्नेबारेमा भने अझै स्पष्ट भएको छैन। हालसम्म संक्रमित मानिसले खोक्दा, हाँछ्यु गर्दा र कुरा गर्ने क्रममा निस्किएका थुकका छिटाका कारण कोरोना सर्ने गरेको पाइएको छ।

के छ अनुसन्धानमा ?
यसअघि बैंक नोट र काँचमा कोरोना भाइरस दुई या तीन दिनसम्म जीवित रहने र प्लास्टिक या स्टीलको सतहमा ६ दिनसम्म जिउँदो रहनसक्ने कुरा अध्ययनबाट पत्ता लागेको थियो। यद्यपि अनुसन्धानको नतिजामा केही फरक आएको थियो। तर अस्ट्रेलियाई संस्थाको अनुसन्धानले यो भाइरस निकै कडा भएको र २० डिग्री सेल्सियसको तापक्रम र अँध्यारोमा मोबाइल फोन, काँच, प्लास्टिक नोटजस्ता चिल्लो सतहमा २८ दिनसम्म जिवित रहन सक्ने पत्ता लगाएको छ।

कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितिमा अन्य फ्लुको भाइरस १७ दिनसम्म जीवित रहनसक्छ । भाइरोलोजी जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार चिसो तापक्रमको तुलनामा तातो तापक्रममा यो भाइरस कम समयसम्म जीवित रहनसक्छ । ४० डिग्रीको तापक्रममा यो भाइरस २४ घण्टाभन्दा बढी समयसम्म रहन सक्दैन । चिल्लो सतहमा भने बढी समयसम्म यो जीवित रहनसक्छ, जबकि कपडाजस्ता खस्रो सतहमा यो १४ दिनभन्दा बढी जीवित रहनसक्दैन।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व निर्देशक प्राध्यापक रोन एक्सेलले यो अनुसन्धानको आलोचना गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘२८ दिनसम्म भाइरस जीवित रहन सक्छ भनेर मनिसमा अनावश्यक रुपमा त्रास पैदा गर्छ।’

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताउनुभएको थियो । महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत् सङ्क्रमण सर्ने निकै त्रास थियो। तर अहिले हामीले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने थाहा पाएका छौँ। मुख्य कारण त थाहा नपाइकनै कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो, उहाँले भन्नुभएको छ ।

अध्ययनहरूले हावामा तैरने कणमा यो भाइरस ३ घण्टासम्म सङ्क्रामक रहन सक्ने देखाएका छन्। तर यो ब्याङ्क नोट वा फोनका टचस्क्रीनबाट कति सर्छ भन्ने कुरा चाहिँ पूर्ण निश्चित् छैन। पछिल्ला अनुसन्धानबाट भाइरस कुनै कुनै सतहमा सोचिएभन्दा लामो समय बाँच्न सक्ने देखिएको छ तर ती अनुसन्धान भाइरसलाई अनुकूल हुने अवस्थामा गरिएका हुन् । जस्तो कि तापक्रम अनि आर्द्रता घटबढ नहुने र अँध्यारो कोठामा। तर वास्तविक संसारमा भाइरस त्यति बलियो नहुन सक्छ।

तर संक्रमणबाट जोगिन बारम्बार हात धुन तथा फोनका स्क्रीन नियमित सफा राख्न आवश्यक छ।चिकित्सकहरुले पनि नियमित साबुन पानीले हात धुने तथा स्यानिटाइजर लगाउन, भौतिक दुरी कायम गर्न र मास्क लगाउन सुझाव दिँदै आइरहेका छन्।

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech