सरकार र डा केसीले बनाए छुट्टाछुट्टै वार्ता टोली

    • स्वास्थ्य पेज

  • २१ आश्विन २०७७, बुधबार

काठमाडौं २१, असोज ।
सरकारले २४ दिनदेखि अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले आन्दोलनको घोषणा गरेलगत्तै सरकारले तीन सदस्यीय वार्ता टोली बनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

सरकारले शिक्षा सचिवको नेतृत्वमा वार्ता टोली बनाए लगतै डा केसीको तर्फबाट पनि डा जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको छ । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहनुभएको छ ।

चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।

 

  • २१ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech