भेरीमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु, न्यूरोका विरामीलाई राहत

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

नेपालगन्ज २०, असोज ।
भेरी अस्पताल नेपालगन्जमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु भएको छ । अपरेटिङ माइक्रोस्कोप जडानसँगै भेरीमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु भएको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बर्दियाका दुईजना विरामीको अपरेटिङ माइक्रोस्कोपबाट शल्यक्रिया गरिएको छ ।

६० बर्षीया महिला र ९ बर्षीया बालिकाको सफलतापुर्वक शल्यक्रिया गरिएको न्यूरो सर्जन डा हरि पौडेलले जानकारी दिनुभयो । ६० बर्षीया महिलाको Meningioma समस्या थियो भने ९ बर्षीया बालिकाको Spinal Intradural Epidermoid Tumor समस्या थियो ।

‘दिमाग तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंगहरु भएकोले स-साना नशा तथा तन्तुहरुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ अस्पतालका न्यूरो सर्जन डा हरि पौडेलले भन्नुभयो- ‘नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले ठूलो गरेर हेरिन्छ र सुरक्षित तरिकाले अपरेसन गर्न सकिन्छ ।’

अस्पतालले गएको आर्थिक बर्ष १ करोड ४१ लाख १ हजार ७ सय ६९ (मूल्य अभिबृद्धि कर बाहेक) रुपैयाँमा उक्त मेसिन खरिद गरी जडान गरेको हो । अपरेटिङ माइक्रोस्कोप जडानपछि दिमागका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र दिमागको क्यान्सरको शल्यक्रियामा सहजता हुने अस्पसतालले जनाएको छ । भेरी अस्पतालमा न्यूरो सर्जन डा पौडेलको आगमनसँगै न्यूरोका विरामीलाई ठूलो राहत मिलेको छ ।

बाँकेसहित दाङ, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका न्यूरोका विरामीहरु उपचारका लागि भारतको लखनउ कि त काठमाडौं जाने गरेका थिए। तर अहिले नेपालगन्जमै न्यूरोका अव्वल चिकित्सक छन् । भेरी अस्पताल नेपालगन्जमा डा पौडेल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा डा जोशन न्यौपाने, मेडिकल कलेज कोहलपुरमा डा नरेन्द्र बास्कोटा र सञ्जीव कुमार झा न्यूरोका कहलिएका चिकित्सक हुनुहुन्छ । उहाँहरु भन्नुहुन्छ-‘न्यूरो समस्याका विरामीलाई सकेसम्म भारत र काठमाडौं जानु पर्ने अवस्था छैन् ।’

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech