बाँकेमा पाँच सय वेडको कोभिड अस्पताल आवश्यकः डा श्यामसुन्दर यादव

    • स्वास्थ्य पेज

  • २० आश्विन २०७७, मंगलवार

नेपालगन्ज २०, असोज ।
‘लक्षण चिन्ह देखिएका संक्रमितहरु जुन अनुपातमा बढेका छन् अस्पतालका शैयाले पुग्ने अवस्था छैन् भेरी अस्पतालमा संचालनमा रहेको कोभिड बिशेष अस्पतालका संयोजक डा श्यामसुन्दर यादवले भन्नुभयो–‘प्रहरी र आर्मी अस्पताललाई पनि कोभिड अस्पतालकारुपमा संचालन गर्न जरुरी छ ।’ डा यादवले यसो भनिरहँदा ८ वटा आईसीयू, दुुईवटा भेन्टिलेटरसहितको ७२ वेड क्षमताको भेरीको आइसोलेसन वार्ड कोभिडका विरामीले भरिभराउ भइसकेका थिए । सय बेड क्षमताको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा पनि संक्रमित विरामीको चाप उस्तै छ । ‘बाँकेमा कम्तिमा पनि पाँच सय वेड क्षमताको अस्पताल अपरिहार्यजस्तै भइसकेको छ उहाँले भन्नुभयो–‘भेरी र मेडिकल कलेजले मात्र कोभिडका विरामीलाई थेग्न सक्ने अवस्था नहुन सक्छ त्यसको विकल्पका रुपमा नेपाल प्रहरी र आर्मी अस्पताललाई उपयोग गर्ने गरी तयारी गरिनु पर्छ ।’ स्रोतसाधन र जनशक्तिले भरिएका प्रहरी र आर्मी अस्पतालहरुलाई आवश्यकता परेको बेला उपयोग गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । भेरी अस्पतालमै कोभिडका लागि सय बेड थप्ने तयारी गरिएको छ । त्यसका लागि जिल्ला समन्वय समिति र स्थानीय सरकारहरुले सहयोग गरेका छन् । भेरी अस्पतालले अन्य रोगका विरामीलाई समेत सेवा दिनु पर्ने भएकाले कोभिडका सबै विरामीलाई उपचार दिन गाह्रो छ । ‘संक्रमितको संख्या अझै बढ्ने देखिन्छ उहाँले भन्नुभयो–‘त्यसका लागि अस्पतालहरु बलियो बनाउन जरुरी छ ।’ कोभिडका विरामीको उपचार, व्यवस्थापन, थप जोखिमको अवस्था, निदानका योजनाबारे कोभिड विशेष अस्पतालका संयोजक डा श्यामसुन्दर यादवसँग स्वास्थ्य पेजका लागि प्रियास्मृति ढकालले कुरााकानी गर्नुभएको छ ।

-खजुराबाट भेरी अस्पतालमा स्थानान्तरण गरिएको कोभिड विशेष अस्पतालले अहिले कसरी सेवा प्रवाह गरिरहेको छ ?
खजुरामा पनि भेरी अस्पताल मातहतमै कोभिड अस्पताल संचालनमा थियो । भेरीकै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा खटिनुभएको थियो । नेपालगन्जबाट चिकित्सक र स्वास्थ्यकर्मीहरु दैनिकरुपमा आउजाउ गरिरहनु भएकै थियो । तर जटिल खालका संक्रमितको संख्या बढ्न थालेपछि जोखिम बढी देखियो । चिकित्सकहरुको निर्णयले खजुराबाट भेरीमा स्थानान्तरण गरेर सेवा प्रवाह गर्दा सहज हुने ठानेर यहाँ स्थानान्तरण गरिएको हो ।

भदौ २६ गते देखि भेरीबाटै कोभिड अस्पताल संचालनमा छ । सबैभन्दा ठूलो चुनौति अक्सिजन पाइपको थियो । किनकी अक्सिजन पाइप नेपालमा पाउँदैन् । हामीले भारतको कोलाकताबाट लिएर जडान गरेका छौं । अधिकांश बेडमा अक्सिजन पाइप जोडिएको छ । यसमा स्थानीयको ठूलो सपोर्ट छ । नेपालगन्ज उद्योग बाणिज्य संघ, बैर्कस एशोसिएसन, चेम्वर अफ कर्मश, कैलपाल हस्पिटल एण्ड कलेजलगायत स्थानीयको सहयोग गर्नुभएको छ । निजामती कर्मचारीहरुले तलव नै काटेर दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीको विशेष पहल यसमा रह्यो । करिव ६०–७० लाखको लगानीमा ८ वटा आइसीयू, २ वटा भेन्टिलेटरसहितको ७२ वेडको कोभिड अस्पताल संचालनमा छ ।

‘अहिले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरले मात्र कोभिडका विरामीहरुलाई सेवा दिइरहेका छन् । नेपाल प्रहरी र आर्मी अस्पतालको प्रयोग हुन सकेको छैन् । कोभिड अस्पताल संचालन भएका अस्पतालहरुलाई पनि थप बलियो बनाउने र नेपाल प्रहरी र आर्मी अस्पतालमा पनि प्रयोग गर्नु आवश्यक देखिन्छ ।’


-संक्रमितको संख्या जुन ढंगबाट बढिरहेको छ त्यसका लागि यो पर्याप्त छ ?
छैन् । मैले पहिल्यै देखि भन्दै आएको छु । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाल प्रहरी र आर्मी । यी चारवटा अस्पताललाई अक्सिजन सहित सुविधा सम्पन्न बनाएर कोभिडका विरामीको उपचारका लागि प्रयोग गरिनु पर्छ । अहिले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरले मात्र कोभिडका विरामीहरुलाई सेवा दिइरहेका छन् । नेपाल प्रहरी र आर्मी अस्पतालको प्रयोग हुन सकेको छैन् ।

कोभिड अस्पताल संचालन भएका अस्पतालहरुलाई पनि थप बलियो बनाउने र नेपाल प्रहरी र आर्मी अस्पतालमा पनि अक्सिजनको पाइपलाईन विस्तार गरेर प्रयोग गर्नु आवश्यक देखिन्छ । संक्रमण दर हेर्दा बाँकेमा करिव पाँचसय वेड क्षमताको कोभिड अस्पताल जरुरी छ । हुन त भेरीमै कोभिडका लागि एक सय बेड थप्दै छौं । उपभोक्ता समिति बनाएर काम सुरु भइसकेको छ । एक करोड लागत रहने अनुमानसहित बजेटको व्यवस्थापन गरिएको छ । जिल्ला समन्वय समितिले ७५ प्रतिशत बजेट दिने र नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र गाउँपालिकाहरुले २५ प्रतिशत बजेट उपलब्ध गराउने भएका छन् ।

-पाँचसय बेड क्षमताको अस्पताल बनाउन आवश्यक छ भन्नुभयो त्यो कसरी सम्भव छ ?
दुई अढाई सय बेडको अस्पताल त भेरीमै सम्भव भइहाल्यो । अरु सबै सेवा बन्द गरेर भेरी अस्पताललाई नै कोभिड अस्पतालमात्र गराउँदा अन्य विरामीलाई समस्या पर्न सक्छ । त्यसैले अघि मैले भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वेड क्षमता बढाउन सकिन्छ । नेपाल प्रहरी र आर्मी अस्पताललाई उपयोग गर्न सकिन्छ । यी अस्पतालहरुबाट पाँचसय बेड क्षमताको कोभिड अस्पताल चलाउन गाह्रो छैन । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई दुई–दुई सय र नेपाल प्रहरी र आर्मी अस्पताललाई ५०÷५० वेडको अस्पताल बनाउने हो भने मलाई लाग्छ १५ दिनभित्रमा पाँचसय वेड क्षमताको कोभिड विशेष अस्पताल तयार हुन्छ ।

-महामारीको सिनारी कस्तो देखिरहेको छ ?
महामारीको सिनारी भयावह नै देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै प्रवक्ताले काठमाडौं नआउन सर्वसाधरणलाई अपिल गरिरहनुभएको छ । काठमाडौंमा संक्रमणको दर हेर्ने हो भने अस्वभाविक छ । नेपालगन्सहित अन्य क्षेत्रको अवस्था पनि त्यस्तै छ । संक्रमितको संख्या बढ्या बढेई छ । मृतकको संख्या पनि बढोत्तरी छ ।

‘सत्य के हो भने कोरोना सजिलो रोग होइन् । विश्वमा धेरै महामारी आए । तर यति लामो समयसम्म टिकेनन् । कोरोना भाइरस संक्रमणको महामारी कहिलेसम्म कायमै हुन्छ भन्न सकिने अवस्था छैन् । अहिलेसम्म न यस्को भ्याक्सिन नै बनेको छ । त्यसैले बेलैमा गम्भीरताका साथ सचेत भएनौ भने अवस्था भयावह हुन सक्छ ।’

विरामी नभएका र तन्नेरी उमेरकै मानिसहरु लगालग मृत्युवरण गरिरहेका छन् । भेरीमै योङ्ग उमेरका व्यक्तिहरुले कोभिडकै कारण मृत्युवरण गर्नुभएको छ । एकजना चिकित्सकलाई समेत हामीले बचाउन सकेनौं । संक्रमणको दर अझै फैलिने अवस्था देखिन्छ । संक्रमणसँग लड्न त्यती सहज छैन तर विकल्प पनि छैन् । स्थानीयस्तरबाटै संक्रमणसँग जुध्ने मेकानिजम तयार पार्नु पर्छ जस्तो मलाई लाग्छ । किनकी यो देशभरीको समस्या हो । केन्द्र र प्रदेशलाई ताक्ने भन्दा पनि यहीको स्रोतसाधनलाई उपयोग गरेर संक्रमणसँग जुध्नु पर्ने अवस्था देखिन्छ ।

कतिपयले कोभिड केही होइन् रुघाखोकीको हो औषधी खाए ठिक भइहाल्छ भन्छन् ? कतिपयले कोभिडसँग जिस्कनु हुँदैन् परिस्थितिलाई नजरअन्दाज गरिए इटालीको जस्तै अवस्था आउन सक्छ पनि भन्छन् ? यो दुईवटा कुराले सर्वसाधरण अलमलमा परेको देखियो नि ?

सबैका आ–आफ्ना तर्क र विचार होलान । तर सत्य के हो भने कोरोना सजिलो रोग होइन् । विश्वमा धेरै महामारी आए । तर यति लामो समयसम्म टिकेनन् । कोरोना भाइरस संक्रमणको महामारी कहिलेसम्म कायमै हुन्छ भन्न सकिने अवस्था छैन् । अहिलेसम्म न यस्को भ्याक्सिन नै बनेको छ । त्यसैले बेलैमा गम्भीरताका साथ सचेत भएनौ भने अवस्था भयावह हुन सक्छ । मैले धेरै पटक सार्वजनिक कार्यक्रममा भनिसकेको छु ।

‘सचेतनाको पाटोमा जनप्रतिनिधिहरुको भूमिका बढी देखिन्छ । चुनावका बेलामा भोट माग्दै घरघर हिड्नु भयो । अव भाइरसबारे जनचेतना जगाउन हात जोडेर घरघर जानु पर्यो । सचेतनाको लागि मिडियाहरुको अत्यधिक प्रयोग गरिनु पर्छ ।’

नेपालीहरुमा जागरण हुन सकेको छैन् । मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने सवालमा नागरिकहरु गैरजिम्मेवार बनिरहेका छन् । कोरोना भाइरस केही हुदैन होइन भन्ने त प्रश्नै छैन् । विश्वलाई नै कायल पारिसकेको छ । अझ हाम्रो जस्तो कमजोर स्वास्थ्य संरचना भएको देशमा हालत के होला ? त्यसैले नागरिकहरु नै सचेत हुन जरुरी छ । मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दुरीको पूर्णपालना गर्ने, भिडभाडमा जाँदै नजाने र सरसफाइमा विशेष ध्यान दिने हो भने धेरै हदसम्म भाइरसलाई डाढा राख्न सक्छौं । सचेतनाको पाटोमा जनप्रतिनिधिहरुको भूमिका बढी देखिन्छ । चुनावका बेलामा भोट माग्दै घरघर हिड्नु भयो । अव भाइरसबारे जनचेतना जगाउन हात जोडेर घरघर जानु पर्यो । सचेतनाको लागि मिडियाहरुको अत्यधिक प्रयोग गरिनु पर्छ ।

-अव पनि सचेतनामुलक कार्यक्रमकै खाँचो छ की उपचार पद्धतीलाई बलियो बनाउने बेला हो ?
उपचार पद्धतीलाई बलियो बनाउने कुरामा विमती नै छैन् । तर जनचेतनालाई प्रभावकारी गराउन सकिएन भने स्थिति नियन्त्रण बाहिर जान सक्छ । जस्तैः कुकुरले टोक्यो भने गरिव होस् वा धनी रेविज सुई अनिवार्य लगाउँछ । उस्लाई भन्नै पर्दैन् । हो त्यसैगरी कोरोना भाइरससँग जुध्नका लागि पनि मास्कको सहि प्रयोग, सामाजिक दुरीको पूर्ण पालना गराउने गरी जनचेतना जागृत गर्नु पर्यो । उपचार पद्धतीलाई बलियो पार्न अक्सिजन पाइपको विस्तार गर्नेदेखि, आईसीयू र भेन्टिलेटर थप गर्नु पर्छ ।

-कोभिड अस्पतालमा खटिने जनशक्तिको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अहिलेसम्म चिकित्सक र स्वास्थ्यकर्मी गरेर भेरीमा ४० जना संक्रमित भइसक्नुभएको छ। तीमध्ये धेरै त काममा फर्किसक्नु पनि भएको छ । कोभिड अस्पतालमा संक्रमित स्वास्थ्यकर्मीलाई बस्न छुट्ै वार्ड छ । त्यहाँ अहिलेपनि संक्रमित स्वास्थ्यकर्मी भरिभराउ हुनुहुन्छ । कोभिड अस्पतालमा केही नयाँ स्वास्थ्यकर्मी पनि थपिनु भएको छ । रोटेशनका हिसावले जनशक्तिहरुको परिचालन गरिरहेका छौं ।

-अन्तमा कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय के हो ?
स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पुर्णपालना गर्नु नै भाइरस संक्रमणबाट जोगिन सक्ने आधार हो । मास्क अनिवार्य लगाउने । सामाजिक दुरीको पूर्ण पालना गर्ने । भिडभाडमा नजाने । सरसफाईमा विशेष ख्याल गर्ने । खानपिनमा पनि पौष्टिक आहारलाई बढि प्राथमिकता दिने । यति गर्न सकियो भने कोरोना भाइरस संक्रमण हुनबाट जोगिन सकिन्छ ।

  • २० आश्विन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech