प्लाज्मा पाएर बाँचेका प्रविणले दिए प्लाज्मा

    • स्वास्थ्य पेज

  • १९ आश्विन २०७७, सोमबार

नेपालगन्ज १९, असोज ।
प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना भाइरस संक्रमणलाई परास्त गर्न सफल प्रविण केसीले आज प्लाज्मा दान गर्नुभएको छ । कोरोनामुक्त भएको २४ दिनपछि उहाँले भेरी अस्पतालमा रहेको रक्त संचार केन्द्रमा पुगेर प्लाज्मा दिनुभएको हो । केसीलाई नेपालगन्ज उपमहानगरपालिका-१ वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको थियो ।

कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका सल्यान शारदा नगरपालिका-६ का २९ बर्षीय प्रविण प्लाज्मा चढाएपछि ठिक हुनुभएको थियो । ‘प्लाज्मा नपाएको भए सायद आज म ज्यूँदो नरहन पनि सक्थे उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘म त बाँचे अव मेरो कारण अरुको ज्यान जोगियोस् भनेर प्लाज्मा दिए ।’

कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेकाहरुलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरिएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोभिडका गम्भीर विरामीलाई रेमडिसिभिरसँगै प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने गरिएको छ ।

पछिल्लो समय प्लाज्मा दान गर्ने क्रम बढ्दै गएको प्लाज्मा कलेक्सनमा संयोजनकारी भूमिका निर्वाह गर्दै आउनुभएका भेरी अस्पतालका सिनियर स्वास्थ्यकर्मी होमनाथ सुवेदीले बताउनुभयो ।

  • १९ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech