डा केसीलाई अक्सिजन सपोर्टमा राखियो, औषधि लिन अस्वीकार

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

काठमाडौं १८, असोज ।

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ । २१ दिनदेखि अनशनरत उनले निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ ।

उहाँलाई अक्सिजन सपोर्टमा राखिएको उहाँसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले जानकारी दिनुभयो । तर डा केसीले अन्य औषधि भने लिन मान्नु भएको छैन । डाक्टर केसीले यसपटक चिकित्सा शिक्षा सुधारलगायतका मागसहित भदौ २९ गते जुम्ला चन्दनाथ नगरपालिका ६ को बाबिरा मष्ट मन्दिरबाट १९ औं अनशन सुरु गर्नुभएको थियो । तर असुरक्षाको कारण देखाउँदै ८ औं दिनमा जुम्ला छोडेर एकदिन नेपालगन्जमा बसेर ९ औं दिनमा काठमाडौं पुग्नुभएको थियो ।

डा केसी अनशन बसेको २१ दिन पुगिसक्दा पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन । बरु उपयुक्त समय नभएको भन्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनशन फिर्ता लिन आग्रह गर्नुभएको छ ।

डाक्टर केसीको माग सम्बोधन गरी उहाँको जीवन रक्षाका लागि देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन् । डाक्टर केसीले यसअघि भएको सहमति कार्यान्वयन हुनु पर्ने, दूरदराजमा चिकित्सा शिक्षाा विस्तार गर्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस अध्यापन सुरु गर्नु पर्नेलगायतका माग राख्नुभएको छ ।

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech