विरामी पठाउँदा समन्वय गर्नु पर्दैन् ? शव व्यवस्थापनमा पनि उस्तै समस्या

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

प्रियास्मृति ढकाल
नेपालगन्ज १८, असोज ।
अस्पतालबीचमा समन्वय नहुँदा कोभिड–१९ का विरामीहरुको उपचारमा गम्भीर समस्या देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका अस्पतालहरुले त्यही उपचार सम्भव हुने विरामीहरुलाई हचुँवाको भरमा रिफर गर्दा विरामीहरुको ज्यान जोखिममा पर्ने खतरा बढेको हो । शनिवार प्रादेशिक अस्पताल सुर्खेतले हचुँवाको भरमा समन्वय नगरेरै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पठाएको विरामी दुई घण्टा अस्पतालको गेटमा छटपटाइरहे ।

कोरोना पुष्टि भएका दैलेख नारायण नगरपालिका–२ का ५१ बर्षीय पुरुषको आन्द्रामा प्वाल परेको छ । उनको आन्द्राको शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि प्रादेशिक अस्पताल सुर्खेतले सिधै कोहलपुर मेडिकल कलेजमा पठायो । न रिफरको कागज दियो न त अस्पतालसँग कुनै समन्वय । ‘यो उपचार प्रादेशिक अस्पतालमै सम्भव थियो–‘कोहलपुर मेडिकल कलेजका उपनिर्देशक डा दिनेश श्रेष्ठले स्वास्थ्य पेजलाई भन्नुभयो–‘हामीले विरामी लिदैनौ भनेका छैनौं तर त्यही उपचार सम्भव हुनेहरुलाई अस्पतालले व्यवस्थापन गर्नु पर्यो । नभए समयमै अस्पतालसँग समन्वय गर्नु पर्यो ।’

दैलेखका विरामीलाई रिफर गर्दा प्रादेशिक अस्पतालले समन्वय नै गरेन् । स्कारपियोले राती साढे ११ बजे विरामीलाई अस्पतालको गेटमा छाडेर गयो । उनीहरुले गेटपालेलाई आफ्नो समस्या सुनाए । असह्य पीडाले विरामी छटपटाइरहेका थिए । ‘अरु विरामी जस्तो कोभिडका विरामीलाई बेडमा लगेर उपचार सुरु गरिहाल्ने भन्ने हुँदैन् यस्को नि प्रक्रिया छ उपनिर्देशक डा श्रेष्ठले भन्नुभयो–‘स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्नु पर्यो, सेफ्टीका लागि पीपीई लगाउनु पर्यो, तयारी गर्न मै समय लागिहाल्छ ।’

रेफर गर्दा अस्पतालले विरामी पठाएको जानकारी गराएको भए त्यहीअनुसार तयारी गरिने बताउँदै उहाँले विरामीले पनि दुःख नपाउने र उपचारमा छिटोछरितो हुने बताउनुभयो । कोभिड लेभल ३ अस्पताल भन्दै बाहिरी जिल्लाका अस्पतालहरुले त्यही उपचार सम्भव हुने विरामीलाई पनि कोहलपुर पठाउने गरेका छन् । यद्यपी सरकारले अहिले लेभल खारेज गरिसकेको छ ।

उपचार सम्भव हुने विरामीहरुलाई त्यही व्यवस्थापन गरेर उपचार सेवा प्रभावकारी गराउन पनि भनिसकेको छ । प्रादेशिक अस्पताल सुर्खेतले त्यही उपचार सम्भव हुने विरामीलाई उपचार नगरेर कोहलपुर पठाएको थियो । करिव दुई महिना अघि हातको नाँडी भाँचिएका सुर्खेतका  विरामीलाई भेन्टिलेटर अभाव भएको भन्दै  रिफर गरेको थियो ।

दैलेखका ती विरामीको अहिले शल्यक्रियाको तयारी गरिएको डा श्रेष्ठले बताउनुभयो । प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा रविन खड्काले हचुँवाको भरमा विरामी रिफर नगरिएको बताउनुभयो । ‘यो केस बुझ्दै छौं कस्ले रिफर गर्यो उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘अहिले हामी यहीबारे छलफल गरिरहेका छौं ।’ जिल्लामा रहेका अस्पतालहरुले उपचार सम्भव भएका विरामीलाई त्यही व्यवस्थापन गर्ने हो भने विरामीको ज्यानको जोखिम कम हुने चिकित्सकहरु बताउँछन् ।

शव व्यवस्थापनमा समन्वय अभाव
बाँकेमा दैनिकरुपमा कोरोना संक्रमणबाट विरामीको मृत्यु भइरहेको छ । महेन्द्रनगर नगरपालिका-२ कंचनपुरकी २९ बर्षीया सुत्केरीको आज विहान कोहलपुरमा मृत्यु भयो । शव व्यवस्थापनको अहिले तयारी भइरहेको छ । योभन्दा पहिले  बाहिरी जिल्लाबाट आएका र उपचारका क्रममा मृत्यु भएका ८ जनाको शव व्यवस्थापन बाँकेमै गरिएको छ ।

महेन्द्रनगरकी सुत्केरीको शव पनि यही व्यवस्थापन गर्ने तयारी छ । शव व्यवस्थापन कति सहज छ ? जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक समेत रहनु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ भन्नुहुन्छ–‘धेरै गाह्रो छ ।’

जहाँको विरामी मृत्यु भएको छ त्यहाँका स्थानीय तहले कुनै पनि सहयोग गरेका छैनन् । न त सहयोगको भूमिका निर्वाह गरेका छन् । एउटा शव व्यवस्थापनमा ७० देखि ८० हजारसम्म खर्च हुने गरेको छ । त्यस्का लागि ५ देखि ७ जनाको टीम खटिने गर्छ ।

‘उनीहरु सबैलाई पीपीइ दिनु पर्यो उहाँले भन्नुभयो–‘शव लैजान गाडीको व्यवस्थापन गर्नेदेखि शव पुर्न खाल्डो खन्नेसम्मको खर्च जोड्दा ७० देखि ८० हजार खर्च लाग्छ ।’ यस्को सबै व्यवस्थापन अहिले केन्द्रले गर्दै आएको छ । शववहान नहुँदा सरकारी गाडीको समेत प्रयोग गर्नु परेको उहाँको भनाइ छ ।

 


Nabintech