भेरी अस्पतालले भन्यो- ‘रेमडिसिभिर र प्लाज्मा थरोपी विधिबाट उपचार गर्दा पनि डा.हरि सापकोटालाई बचाउन सकिएन’

    • स्वास्थ्य पेज

  • १५ आश्विन २०७७, बिहीबार

नेपालगन्ज १५, असोज ।
भेरी अस्पताल नेपालगन्जले कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक मृत्यु भएका चिकित्सकलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको जनाएको छ। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटाको बिहीबार दिउँसो भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। बाँकेको खजुरा गाउँपालिका-३ का ५९ बर्षीय डा सापकोटाको भेरीमै दरवन्दी थियो ।

अस्पतालले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा सापकोटालाई रेमडिसिभिर र प्लाज्मा थेरापी गरिएको जानकारी दिएको हो । उहाँलाई फोक्सोमा निमोनिया भई समस्या बढेपछि मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उहाँलाई भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो। सुर्खेतमै उपचार भइरहेको भएपनि श्वासप्रवासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल ल्याइएको थियो।

मधुमेह र उच्च रक्तचापका बिरामी डा सापकोटालाई अस्पताल ल्याउँदा अक्सिजन र सुगर नियन्त्रणका लागि विभिन्न किसिमका इन्सुलिन र एन्टीबायोटिक चलाएपनि सुधार नभएको अस्पतालले भनेको छ । उपचारको क्रममा डा सापकोटाको स्वास्थ्यमा आशातित सुधार नभएपछि थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भन्दै अस्पतालले अक्सिजन स्याचूरेसन निकै कम भएकोले थप दुर्घटना हुने सम्भावनाका कारण उनलाई थप उपचारका लागि रेफर नगरिएको स्पष्ट पारेको छ।

‘उहाँको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप श्वासप्रश्वास सम्बन्धी समस्या भई अक्सिजन स्याचुरेसन घट्दो रहेकोले आज बिहान ६ बजे भेन्टिलेटरमा राखिएको थियो,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। करीब १२ बजे मुटुको चाल बन्द हुँदा उनको मुटुको चाल फर्काउन सिपिआर विधि गरिएको तर दिउँसो ३ बजेर ३० मिनेट जाँदा कार्डियक अरेस्ट भई मृत्यु भएको अस्पतालले जनाएको छ।उहाँ ११ औं तहका सरकारी चिकित्सक हुनुहुुन्छ । डा सापकोटाको मृत्युले देशको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै अस्पतालले दुख व्यक्त गरेको छ।

  • १५ आश्विन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech