नेपालगन्ज १५, असोज ।
नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जका बरिष्ठ हाडजोर्नी रोग बिशेषज्ञ डा हरि सापकोटाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।
भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् उहाँको आज दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा प्रकाश थापाले पुष्टि गर्नुभएको छ ।
दरबन्दी भेरीमै भएपनि हाल उहाँ प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई सुर्खेतमै भाइरस संक्रमण भएको थियो । सुरुमा उहाँलाई त्यही उपचार गरिएको थियो ।
तर अवस्था सुधार नभएपछि असोज १ गते सुर्खेतबाट ल्याएर भेरी अस्पतालमा भर्ना गरिएको थियो । रेमडिसिभिर औषधिसँगै उहाँलाई दुईपटक प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको थियो ।
‘हरसम्भव प्रयास गर्दापनि बचाउन सकिएन मेसु थापाले भन्नुभयो–‘एउटा होनहार चिकित्सक गुमाउनु पर्दा निकै दुखी भएका छौं ।’
उहाँ लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।