कोरोना संक्रमणबाट कपिलवस्तु र रुपन्देहीमा दुईको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ आश्विन २०७७, बुधबार

बुटवल १४, असोज ।

कोरोना भाइरस संक्रमणबाट कपिलवस्तु र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिला र रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

कपिलवस्तुकी ५० वर्षीया महिलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिनुभयो। उनी निमोनिया र मुटुका दीर्घरोगी समेत थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ५ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएकी थिइन् । असोज ५ गते नै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै रुपन्देहीका ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । सोही क्रममा उनको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएसँगै उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनको मिर्गौला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।

 

  • १४ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech