रोल्पामा कोरोना व्यवस्थापनमा पौने ७ करोड खर्च, सबैभन्दा धेरै खर्च गर्नेमा लुंग्री पालिका

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७७, सोमबार

रोल्पा १२, असोज ।
रोल्पाका दश स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि पौने सात करोड रकम खर्च गरेका छन् । सबैभन्दा धेरै खर्च लुंग्री गाउँपालिकाले गरेको छ ।

रोल्पाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा ५० लाख रुपैयाँ खर्च गरेको छ । लुंग्री गाउँपालिकाले १ करोड ६१ लाख, सुनिलस्मृति गाउँपालिकाले १ करोड १० लाख, परिवर्तन गाउँपालिकाले ८५ लाख र त्रिवेणी गाउँपालिकाले ५७ लाख रुपैयाँ खर्च गरेका छन् ।यसैगरी रुन्टीगढी गाउँपालिकाले ५० लाख, माडी गाउँपालिकाले ४४ लाख ३५ हजार ४ सय ५०, थबाङ गाउँपालिकाले ३८ लाख र सुनछहारी गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेको जनाएका छन् । यो रकम उनीहरुले हेल्थ डेस्क, क्वारिन्टिन, आइसोलेसन, नागरिकको व्यवस्थापन जस्ता कामहरुमा खर्च गरेको जनाएका छन् ।

क्वारिन्टिन व्यवस्थापन तथा तेस्रो मुलुकबाट आएका नागरिकको व्यवस्थापन र दाङदेखि आफ्नो पालिकामा नागरिकलाई ओसार्नका लागि सवारी साधानमा गरेको खर्च मात्रै छ करोड ७७ लाख ७२ हजार ६७२ रुपैयाँ भएको छ । कोरोना व्यवस्थापनका लागि रोल्पाका दश स्थानीय सरकारलाई संघीय र प्रदेश सरकारले रकम सहयोग गरेका थिए ।

कोभिड १९ महामारी पछि रोल्पामा भदौ १८ गतेसम्म तीन हजार ८ सय ९४ जना भारत तथा तेस्रो मुलुकबाट आएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार तीमध्ये भारतबाट दुई हजार ९ सय ५० जना रोल्पा आएका हुन् भने तेस्रो मुलुकबाट ९ सय ४४ जना आएका छन् ।

रोल्पामा २०७७ जेठ २५ गते पहिलो पटक कोरोना भाइरसका ४ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीका अनुसार असोज ३ गतेसम्म दुई हजार ९ सय ६८जनाको स्वाब संकलन गरिएकोमा १०७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभमध्ये ७६ जना उपचारपछि घर फर्केका छन् । १२ जना आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा छन् ।

  • १२ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech