अर्घाखाँचीमा पनि देखियो कोरोना

    • स्वास्थ्य पेज

  • १२ जेष्ठ २०७७, सोमबार

बुटवल १२ जेष्ठ ।
प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना र रुपन्देहीका एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

कपिलवस्तुका दुई जनामध्ये एकजना मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका र एकजना कपिलवस्तुकै अस्पतालका बिरामी हुन् । रुपन्देहीका एकजना कोरोना संक्रमित पनि लुम्बिनी प्रादेशिक अस्पतालका विरामी भएको प्रयोगशालाले जनाएको छ । सोमबार थपिएका यी सबै संक्रमित पुरुष हुन् । सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ । संक्रमितमध्ये प्रदेश ५ का ३३ जना निको भएर घर फर्केका छन् । बाँके नरैनापुरका एक जनाको क्वारेन्टाइनमा र गुल्मी मदानेका एक पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । प्रदेश ५ मा आइतबारसम्म आरटी पीसीआर परीक्षणका लागि ८ हजार ९ सय ६० जनाको स्वाब संकलन गरिएको, ७ हजार १ सय ४१ जनाको परीक्षण भएको, दुई सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको र एक हजार ८ सय १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिनुभयो ।

प्रदेश ५ मा २१ हजार ३ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।

  • १२ जेष्ठ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech