काठमाडौं ७, असोज ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको पहिलो पटक पोस्टमार्टम हुने भएको छ । असोज ३ गते मृत्यु भएका रामलखन जैसवालको भोली बिहीबार पोस्टमार्टम हुने भएको हो ।
भद्रकालीस्थित बन्दीगृहमा रहेका उनी बिरामी भएपछि जेल प्रशासनले वीर अस्पताल लगेको थियो । उनको त्यही दिन राति १०ः५५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । परिवारका सदस्यले भने शव हेर्दा शंकास्पद देखिएको बताएका छन् ।
त्यसलाई लिएर अनेक प्रचार हुन थालेपछि कारागार र अस्पताल प्रशासन पोस्टमार्टम गर्ने निष्कर्षमा पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४३६ जनाको मृत्यु भइसकेको छ । तर कसैको पनि पोस्टमार्टम गरिएको थिएन ।