देउराली जनताद्धारा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने फ्याभिपिराभिर औषधि नेपालमै पहिलो पटक उत्पादन

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

काठमाडौं ७, असोज ।
कोरोना भाइरस संक्रमितको उपचारमा क्लिनिकल अध्ययनका लागि विश्वका धेरै देशमा प्रयोग भइरहेको फ्याभिपिराभिर औषधि नेपाली औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले पनि उत्पादन गर्न थालेको छ। यो औषधि नेपालमा नै पहिलो पटक उत्पादन सुरु भएको हो। यसअघि कुनै पनि नेपाली कम्पनीले यस्ता औषधि उत्पादन गरेको छैन।

देउराली जनताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर २०० नाममा ट्याब्लेटका रुपमा उक्त औषधि उत्पादन गरेको हो।

देउराली जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार कोभिड-१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट असोज ६ गते स्वीकृति प्राप्त भएको हो।

उहाँले उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार कोभिड १९ संक्रमितको उपचारका लागि ‘इन्भेष्टिगेसनल ड्रग फर इमरजेन्सी युज’ (अत्यावश्यक प्रयोग गर्न)को अनुसन्धानका लागि क्लिनिकल अध्ययन गरी प्रभावकारिता कायम गर्न सहकार्यको तयारी भएको समेत जानकारी दिनुभयो ।

‘महामारीको यस विषम परिस्थितिमा फाभिर–२०० नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन यस कम्पनीले सम्पूर्ण तैयारी गरिसकेका छौँ,’ देउराली जनताद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech