कोरोना संक्रमणबाट गम्भीर बनेका चिकित्सकलाई प्लाज्मा चढाइयो

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७७, सोमबार

नेपालगन्ज ५, असोज ।
कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका एकजना चिकित्सकलाई भेरी अस्पताल नेपालगन्जमा प्लाज्मा दिइएको छ । कोरोना संक्रमण पुष्टि भएका उनी भदौ एक गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए । सुर्खेतमा कार्यरत ती चिकित्सकलाई त्यही नै भाइरस संक्रमण भएको थियो ।

प्रादेशीक अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि थप उपचारका लागि भेरीमा ल्याइएको थियो । ती चिकित्सकलाई कोहलपुर नगरपालिका–५ का पुरुषले प्लाज्मा दिएका थिए भने नर्स प्रिती खड्काले प्लाज्मा चढाउनुभएको थियो । प्रितीपनि भाइरस संक्रमण भएर आइसोलेसन वार्डमा हुनुहुन्छ ।उहाँ आफै संक्रमित भएपनि विरामीको उपचारमा खटिइरहनु भएको छ ।

प्लाज्मा थेरापी उपचारका फोकलपर्सन डा.खगेन्द्र जंग शाहका अनुसार संक्रमित चिकित्सकलाई सुरुमा रेमडिसिभिर औषधि दिइएको थियो । त्यसले पनि अवस्थामा सुधार नआएपछि प्लाज्मा दिइएको हो । श्वासप्रश्वासमा समस्या देखिएका संक्रमित चिकित्सकको उपचारमा डा. शाहसँगै डा. पारश पाण्डे आफै संलग्न हुनुहुन्छ । कोभिडका विरामीको अक्सिजन थेरापीका लागि डा.पाण्डे निरन्तर लागि रहनुभएको छ । ती चिकित्सकसहित भेरीमा तेस्रो संक्रमितलाई प्लाज्मा दिइएको हो ।

यसअघि दुईजनालाई प्लाज्मा दिइएको थियो । तीमध्ये २९ बर्षीय प्रविण केसी निको भएर अहिले आराम गरिरहेका छन्। गम्भीर अवस्थामा पुगेका विरामीलाई प्लाज्मा दिने गरिएको छ ।

  • ५ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech