नेपालमा एकै दिन २०२० संक्रमित थपिए, मृतक संख्या ३९० पुग्यो

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७७, शुक्रबार

काठमाडौं २, असोज ।

नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ । संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् । ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन्। मोरङका ६६-६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ।

  • २ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech