कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको थ्रोट स्वाबको रिपोर्ट आज आउने

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७७, आईतवार

नेपालगन्ज २१ बैशाख ।
नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६० वर्षीय पुरुषका परिवारका सदस्य, आफन्त तथा उनको सम्पर्कमा रहेका व्यक्तिहरुको संकलन गरिएको थ्रोट स्वाबको रिपोर्ट आज आउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार संक्रमितका घरपरिवार आफन्त र दैनिक सम्पर्कमा रहेका ८३ जनाको स्वाब संकलन गरिएको छ।
नेपालगञ्जको डीएसपी रोडमा घर भएका संक्रमित व्यक्ति वडा नं. ८ को जुलाहनपुरुवामा रहेको मस्जिद र मदरसामा दैनिक आवतजावत गर्ने गरेको खुलेको छ । यो ठाउँलाई सील गरिएको छ। प्रहरीले टोललाई डोरीले घेराबन्दी गरेर राखेको छ।शनिबारदेखि जुलाहनपुरुवालाई क्वारेन्टाइनको रुपमा परिणत गरिएको छ। सुरक्षाकर्मीले चारैतिरबाट पहरा दिएका छन्। टोलभित्र कसैलाई जान दिइएको छैन भने टोलभित्रका मानिसलाई बाहिर सम्पर्क गर्नमा रोक लगाइएको छ।

जुलाहनपुरुवामा संक्रमितको सम्पर्कमा पुगेका ७८ जना भेटिएका छन्। संख्या अझै बढ्न सक्छ। वडा नं. ५ र ११ मा रहेका उनका परिवारका सदस्य र आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा लगिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।स्वाब लिएका घरपरिवार, आफन्त तथा दैनिक सम्पर्कमा रहेका व्यक्तिको रिपोर्ट आउने बेलासम्मका लागि टोललाई क्वारेन्टाइन बनाउनुका साथै केहीलाई क्याम्पसमा राखिएको हो ।

रिपोर्ट के आउँछ त्यसका आधारमा के गर्ने निर्णय हुने श्रेष्ठले बताउनुभयो। भेरी अस्पताल नेपालगञ्जमा कोरोना जाँच शुरु भएपछि जाँचमा तीब्रता दिइएको छ। दैनिक ५० बढीको स्वाब निकालिने काम भइरहेको छ।भेरी अस्पतालमा अहिलेसम्म ३ सय २८ जनाको स्वाब आइपुगेकोमा २ सय ५६ जनाको रिपोर्ट आएको छ। त्यसमा एकजना पोजिटिभ छन्। बाँकी ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

  • २१ बैशाख २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech