कोभिड–१९ नियन्त्रणमा उत्कृष्ट काम गर्ने रुना झा

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७७, शनिबार

नेपालगन्ज २० बैशाख ।

विश्व अहिले कोरोना भाइरस कोभिड–१९ को महामारीविरुद्ध लडिरहेको छ । यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन् । कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि पर्नुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा रुना झा फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाभित्र पर्नुभएको हो। उहाँले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहनुभएको छ । उहाँ र उहाँको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उहाँको लागि सामान्य बनिसकेको छ । उहाँ प्राविधिक काम त गहुन्छ नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उहाँले नै गर्दै आउनुभएको छ ।

झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उहाँको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।

आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उहाँ बताउँनुहुन्छ। उहाँको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उहाँ आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहनुभएको छ । उहाँ आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँनुहुन्छ।

यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उहाँ अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बस्नुभएको छ । उहाँले आफ्ना बुबाआमासँग पनि भेट्नुभएको छैन् । उहाँ परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँनुहुन्छ ।

   स्रोत :  युएन वुमेन

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech