अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

    • स्वास्थ्य पेज

  • २० बैशाख २०७७, शनिबार

नेपालगन्ज २० बैशाख ।
अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय एफडीएले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको अलजजीराले उल्लेख गरेको छ ।

यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिइनेछ । गिलेड कम्पनीले निर्माण गरेको रेमडेसिभिर औषधि कोरोना भाइरसको लागि प्रभावकारी देखिएको अमेरिकाको सरकारी अध्ययनले देखाएको हो । यो औषधिले मानिसहरु छिट्टै नै निको हुने अध्ययनमा उल्लेख गरिएको छ । अध्ययनमा एक हजार ६३ गम्भीर लक्षण भएका बिरामीलाई सामेल गरिएको थियो । अध्ययनको क्रममा यो औषधि दिएका बिरामीहरु अन्य बिरामीको तुलनामा छिटै निको भएको पाइएको थियो । यो औषधि दिएका मानिसहरु औसतमा ११ दिनमा निको भएर घर फर्किन सक्छन् ।

तर, सामान्य अवस्थामा भने औसतमा १५ दिन लाग्ने गरेको छ । यो औषधिले मृत्यु हुनेको संख्यामा पनि कमी आउन सक्ने बताइएको छ । कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता नलागेको र अझै यसको खोप आउन एक वर्षभन्दा लामो समय लाग्न सक्ने बताएकाले अहिले अन्य रोगको लागि बनाइएको औषधिको परीक्षण कोरोना भाइरस नियन्त्रणको लागि भइरहेको छ ।यसैबीच गिलेडले १५ लाख शिशि औषधि अनुदानमा दिने र यसको उत्पादन बढाउने निर्णय गरेको छ ।यद्यपि यसअघि चीनले गरेको परीक्षणमा भने रेमडेसिभिर कोभिड–१९ को उपचारमा निष्प्रभावी रहेको बताएको थियो ।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech