नेपालगन्ज २४, भदौ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत् कोरोना संक्रमितका गम्भीर अर्का विरामीलाई पनि प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको छ ।
नेपालगन्जका ५९ बर्षीय पुरुषमा बुधवार प्लाज्मा चढाइएको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो । नेपाली सेनाका जवान रामहरी अधिकारीले संक्रमित व्यक्तीलाई प्लाज्मा दिनुभएको हो । यसअघि सल्यानका २९ बर्षीय पुरुषलाई प्लाज्मा दिइएको थियो ।

प्लाज्मादाता नेपाली सेनाका जवान रामहरी अधिकारी
उनको स्वास्थ्य अवस्थामा उत्साहजनक सुधार आएको छ । बुधवार प्लाज्मा दिइएका व्यक्तीको अवस्था भने गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।
प्लाज्मा दिनु अघि उनलाई रेमडिसिभिर औषधि समेत दिइएको छ । स्वास्थ्यमा समस्या भएपछि ती पुरुष गएको शनिवार अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको आइतवार स्वाब लिइएको थियो । र, सोमवार रिर्पोट पोजेटिभ आएको थियो ।
उनको दुवै फोक्सोमा निमोनिया भएको चिकित्सकहरुको भनाइ छ । संक्रमित पुरुषमा श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ । कोरोनाका गम्भीर विरामीमध्ये भेरी अस्पतालले अहिलेसम्म दुईजनालाई प्लाज्मा र दुईजनालाई रेमडिसिभिर औषधि दिएको छ ।