को हुन् प्रा.डा.जागेश्वर गौतम ?

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

तुलसा घिमिरे- काठमाडौं २३, भदौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी प्रा.डा.जागेश्वर गौतमले पाउनुभएको छ । यसअघि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक रहनुभएका उहाँलाई प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ ।

अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयको प्रवक्तालाई जनताले पनि विशेष चासोका रुपमा हेर्ने गर्छन् कारण कोरोना अपडेट कार्यक्रम । नेपालमा डेढ सयबढी दिनदेखि कोरोना अपडेट कार्यक्रम चलिरहेको छ जसबाट नागरिकले सही र आधिकारिक सूचना पाउने अपेक्षा राख्दछन् । साढे २ लाख भन्दा बढीको लाइक रहेको स्वास्थ्य मन्त्रालयको फेसबुक पेज र नेपाल टेलिभिजनलगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत एकैपटक लाखौंले प्रत्यक्ष हेर्ने गर्दछन् ।

सामन्य समयमा प्रवक्तालाई आम नागरिकले नचिने पनि अहिले सबैभन्दा धेरै चासोको व्यक्ति स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेको छ । त्यसैले पनि आम जनमानसमा प्रवक्ता परिवर्तनको विषयमा चासो लाग्नु स्वभाविक हो।

कोरोना अपडेटको ७६ औं देखि स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष प्रसारण कार्यक्रम प्रा.डा जागेश्वर गौतमले सञ्चालन गरिरहनु भएको छ । हक्की स्वभाव, प्रस्टवक्ता र आफूलाई कुराले भन्दा कामले चिनाउन सफल रहेको गौतमका सहकर्मीहरुनै बताउँछन् । अधिकांश समय दूरदराजमा गरिब जनताको स्वास्थ्य सेवामा सर्मपण गर्नुभएका गौतम आफ्नो कर्मयोगी स्वभावका कारण धेरै बिरामीका प्रिय हुनुहुन्छ ।

उहाँ गाउँ(गाउँमा बिरामीको घरदैलोसम्म पुगेर जनचेतना फलाउँदै हिड्नु भयो, जतिबेला नेपालमा पाठेघर खस्ने समस्या उच्च थियो । पाठेघर खस्नाको कारण, यसबाट बच्ने उपाय तथा उपचारका सम्बन्धमा सम्झाउदै हिड्नुभयो । अहिले नेपालमा पाठेघर खस्ने समस्या न्यून छ । गोरखामा उहाँले एक वर्षमा ५०० महिलाको शल्यक्रिया गर्नुभयो जहाँका महिलाहरुमा पाठेघर खस्ने समस्या अधिक थियो । पहाडमा मात्रै २० हजार ५ सय भन्दा बढी महिलाको स्त्रीरोग सम्बन्धी शल्यक्रिया गर्नुभएका उहाँले अहिलेसम्म २८ हजार भन्दा बढी शल्यक्रिया गरिसक्नुभयो र यो क्रम जारी छ । उहाँ यसअघिका मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाका गुरु हुनुहुन्छ ।

उहाँले देवकोटालाई प्रसुती सम्बन्धी सर्जरी सिकाउनुभएको थियो । उहाँले देवकोटालाई मात्रै होइन वर्षौदेखि सयौं डाक्टरलाई सर्जरी सिकाउनुभएको छ र अध्यापन गराउदै आउनुभएको छ । गौतम बिगत ६ वर्षदेखि प्राध्यापक हुनुहुन्छ, आफ्नो ज्ञान, सीप तथा क्षमता नयाँ पुस्तालाई हस्तान्तरण गर्न उहाँ निरन्तर लागिपर्नुभएको छ ।

आफ्नो सेवाको अधिकांश समय दुर्गम र पहाडी जिल्लामा आफूलाई समर्पित गर्नुभएका गौतमलाई गरिबका डाक्टर भनेर पनि चिनिन्छ । भरतपुर अस्पतालमा १४ वर्ष बिताउनुभएका गौतमले सो अस्पतालको मुहार फेर्नुभयो । भरतपुरलाई देशकै दोस्रो ठूलो मेडिकल हबको रुपमा स्थापित गर्न उहाँको ठूलो भूमिका रहेको छ । चितवन मेडिकल कलेजको संस्थापक अध्यक्ष भई चितवनमा मेडिकल शिक्षाको सुरुवात पनि गौतमले नै गर्नुभयो । सय बेडको भरतपुर अस्पताललाई ६ सय बेडको बनाउनुका साथै छुट्टै मातृशिशु भवन पनि बनाउनुभयो ।

भरतपुरमात्रै होइन जागेश्वर गौतम जहाँ पुग्नुभएको छ त्यहाँको रुप बद्लिएको छ । थापाथलीस्थित प्रसुती अस्पतालमा पनि उल्लेख्य सुधार गर्नुभयो ।

सेवाग्राहीले पानी किन्न नपर्ने व्यवस्था गर्नुभयो भने बिरामी कुरुवाका लागि बस्ने व्यवस्था मिलाउनुभयो । अस्पतालमा तातो चिसो पानीको निशुल्क व्यवस्था गरिएपछि, सेवाग्राहीको पानीमा हुने वार्षिक खर्च ३० देखि ४० लाख रुपियाँ जोगिएको छ । फोहोर व्यवस्थापन हुन नसक्दा बेलाबखत अस्पताल परिसर नै दुर्गन्धित हुने गरेको अस्पताल अहिले फोहोर बेच्ने भएको छ ।

अस्पतालमा सेवा सुविधा र भौतिक संरचनाको स्तरन्नोति भएपछि विरामीको चाप दोब्बरले बढेको छ । वर्तमान कोरोनाको महामारीको समयमा यस अस्पतालमा कुनै पनि सेवा रोकिएका छैनन् ।

काठमाडौंमा स्त्रीरोगमा पहिलोपटक ल्याप्रोस्कोपीक विधिबाट सर्जरीको सुरुवात गौतमले नै गर्नुभयो । प्रसुती अस्पताल ल्याप्रोस्कोपी सेवा सुरु गर्ने पहिलो सरकारी अस्पताल हो ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीको सल्लाहकार भई कार्य गर्नुभएका गौतम मन्त्रालयको काम कार्बाहीबारे अनुभवी हुनुहुन्छ । स्वास्थ्य बीमा कार्यक्रम, इएचएस क्लिनिक सेवाको सुरुवात र महिला बालबालिका तथा जेष्ठ नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरी उपचार गर्ने लगायतका कार्यक्रम सुरुवात गर्न उहाँको प्रत्यक्ष भूमिका रहेको छ ।

यसअघि मन्त्रालयमा रहँदा प्रभावकारी काम गरी स्वास्थ्य सम्बन्धी नीति निर्माणमा खेलेको महत्वपूर्ण भूमिकालाई नजिकबाट नियाँलेका कर्मचारीहरुले संकटको समयमा गौतमको आगमनले मन्त्रालयको काम कार्बाही अझ प्रभावकारी हुने विश्वास लिएका छन् ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech