डा.ज्ञानेन्द्रमान सिंह कार्की भन्नुहुन्छ- ‘म मृत्युको मुखमा पुगेर फर्किएको मान्छे हुँ कोरोनालाई ‘अन्डरस्टिमेट’ नगरौं’

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७७, मंगलवार

नेपालगन्ज २३, भदौ ।

केही दिनअघि कोरोना भाइरस संक्रमणमुक्त हुनुभएका डा.ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई नजरअन्दाज नगर्न आग्रह गर्नुभएको छ । सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उपस्थित हुनु भएका उहाँले कोरोनालाई सामान्य तरिकारले बुझ्ने र बेवास्ता गर्ने कार्य निकै घातक रहेको बताउनु भयो । आफू कोरोना संक्रमणकै कारण मृत्युको मुखमा पुगेर फर्किएको जानकारी दिँदै उहाँले सकेसम्म यसबारे बच्न सबैलाई आग्रह गर्नुभयो ।

डा. कार्कीले व्यक्त गर्नुभएका भनाइका केही अंश 

विगत ५–६ महिनादेखि हामीले कोभिड–१९ भोगिरहेका छौँ । सो समयदेखि विभिन्न सञ्चारमाध्यम, सरकार तथा चिकित्सकहरू, साथै हामीजस्ता भोग्नेले यसबारे प्रष्ट पार्दै आएपनि अझै भ्रममा रहेको मैले पाएको छु । केही व्यक्ति तथा कतिपय चिकित्सकले पनि ‘कोभिड भनेको केही पनि होइन’, ‘घरमै बसेर बेसारपानी, कागती पानीले निको पार्ने’, अस्पताल जानुपर्दैन भनेर ‘अन्डरस्टिमेट’ गरिहेको मैले देखेँ । यस्ता कार्यले सरकार र हाम्रो प्रयासलाई धमिल्याउन खोजे जस्तो लाग्छ । त्यसैले म सबैलाई आग्रह गर्न चाहन्छु, कृपया कोभिड–१९ संक्रमणलाई ‘अन्डरस्टिमेट’ नगरौँ ।

अहिले पनि जनमानसमा जवान मान्छेहरूलाई कोभिड–१९ ले खासै असर गर्दैन भन्ने धारणा छ । यसले चाहिँ दीर्घ रोगी, वृद्ध मानिस र साना उमेरकालाई मात्र बढी असर गर्छ भनेर बेवास्ता गर्दै बजार घुम्ने प्रवृत्ति पनि देखेको छु । तर यो रोगले कसैलाई पनि अछुतो राख्दैन । चाहे त्यो बालक होस् वा वयस्क वा वृद्ध । यो संक्रमण भइसकेपछि कस्तो हुन्छ भन्ने कुरा तपाईँको कल्पना भन्दा बाहिरको हो । त्यो अनुभव म स्वयम्ले गरेर आएको छु ।

म आफैँ चिकित्सक, जो विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै हिँडिरहेको बेला करिब एक महिनाअघि दुर्भाग्यवश मलाई संक्रमण भयो । तर मैले बेलैमा राम्रो उपचार पाएँ । सबैको प्रेरणा र साथ सहयोग पाएँ । जसले गर्दा म मृत्युको मुखमा पुगेर फर्किएको छु । यदि समयमा उपचार नपाएको भए आज सायद १८औँ वा यस्तै तिथि चलिरहेको हुन्थ्यो ।

यसबाट बच्न सरकारले दिएका साधारण स्वास्थ्य सुझावहरू पालना गरौँ । सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा स्यानिटाइजर दुरुपयोग नगरी सही रूपमा प्रयोग गर्ने आदि गरौँ । अझै पनि कोभिड संक्रमण भयो भने कस्तो हुन्छ, कसलाई के हुन्छ भनेर राम्ररी बुझेका छैनौँ । त्यसैले माथिका सुझावहरू सरकार र हामीले बारम्बार दोहोर्‍याइरहेका छौँ ।

हामी चिकित्सकहरूलाई हरेक दिनजसो अहिले संक्रमण भइरहेको छ । जति नै पीपीई र सुरक्षा सावधानी अपनाए पनि बिरामीसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले हामीलाई अरूलाई भन्दा संक्रमणको खतरा अलि बढी छ । त्यसैले स्वास्थ्यकर्मीहरूले अझ बढी सुरक्षा सावधानी अपनाउन जरुरी छ । हामी स्वास्थ्यकर्मी स्वस्थ भयौँ भने मात्र समाज स्वस्थ रहन्छ । हामीले एक जना मात्र डाक्टर गुमायौँ भने त्यस्तो डाक्टर उत्पादन गर्नलाई ३५ देखि ४० वर्ष लाग्न सक्छ । त्यसैले चिकित्सक लगायत सबैले ध्यान दिनुपर्ने कुरा चाहिँ ‘प्रिभेन्सन’ नै हो ।

चिकित्सक, सुरक्षाकर्मी लगायत फ्रन्टलाइनमा काम गरिरहेका व्यक्तिलाई कोरोना लागेपछि अहिले समाजमा हेरिने दृष्टि ‘राक्षेसी’ प्रवृत्तिको म देख्छु । कोरोना भाइरसबाट कोही संक्रमित भयो भने कृपया उसलाई दुःख दिने, हेला गर्ने गरेर मनोबल गिराउने कार्य नगरौँ । कोरोना लागेर निको भएका व्यक्तिबाट संक्रमण सर्ने सम्भावना हुँदैन । बरु नभएका व्यक्ति कतिखेर कहाँ संक्रमित हुन्छ, त्यसबाट चाहिँ संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ ।

भाइरस कहिले पनि निर्मूल हुँदैन । त्यसैले कोरोना भाइरससँग अब सँगै हिँड्न सिक्नुपर्छ, जसरी ट्युबरक्लोसिस ९टीबी०, एचआईभी लगायतसँग हिँडिरहेका छौँ । यसबाट बचेर सँगै हिँड्न सामान्य सुरक्षाका सावधानी अपनाऔँ ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech