संक्रमित मस्जिदमा पढाउने गुरू भएको खुलासा

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

नेपालगन्जमा १९ बैशाख ।
शुक्रबार बाँकेमा कोरोना पुष्टि भएका ६० वर्षीय व्यक्ति मस्जिदमा पढाउने गुरू भएको खुलेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ डिएसपी रोड निवासी उनले रोजा सुरू हुनुभन्दा पहिला अर्थात् वैशाख १३ गते अघिसम्म स्थानीय मस्जिदहरूमा पढाउँदै आएको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

उनले पढाउने मस्जिद कुन थियो ? भन्ने कुरा भने प्रशासने खुलाइएको छैन। स्थानीय प्रशासनले बाँके जिल्लास्थित धार्मिक स्थलहरूमा बस्नेहरूलाई खोजेर स्वाब परीक्षण गर्ने क्रममा ६० वर्षीय संक्रमित भेटिएका हुन्। बिहीबार स्थानीय मस्जिदमा बस्नेमात्रै ११ जनाको स्वाब परीक्षण गरिएकाहरूमध्ये उनमा कोरोना पुष्टि भएको हो। यो बीचमा बागेश्वरी मन्दिरमा बस्नेहरूको पनि स्वाब परीक्षण गरिएको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले संक्रमित व्यक्ति यो बीचमा आफैं भारत नगए तापनि मदरसामा पढ्न आउनेहरूका कारण उनलाई संक्रमण भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो।

उहाँले बिरामीको अवस्था सामान्य रहेको र अहिले उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको कोरोना विशेष अस्पातलको आइसोलेनमा भर्ना गरिएको जानकारी स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले हाल आफूहरू ती धर्म गुरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजीमा लागेको जानकारी दिनुभयो । उहाँले संक्रमित व्यक्तिले यो बीचमा रुपैडिहा आसपासबाहेक अन्यत्र नगएको भन्ने दाबी गरेको बताएको श्रेष्ठको भनाइ छ ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech