गर्भवति र सुत्केरी क्वारेन्टाइनको चिसो भुइँमा बस्न बाध्य

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

प्यूठान १९ बैशाख ।
प्यूठानमा गर्भवति र सुत्केरी क्वारेन्टाइनको चिसो भुइँमा बस्न बाध्य भएका छन् । प्लास्टर गरिएको चिसो कोठाको भुइँमा ९ महिनाकी गर्भवतीसहित, एक महिनाकी सुत्केरीसमेत छन् । आमासँगै रहेका ५ वर्षमुनिका दर्जनौं बालबालिका चिसोले प्रभावित भएका छन् । वैशाख ९ गते काठमाडौं उपत्यकाबाट आएका उनीहरूले न्यूनतम मानवीय सुविधासमेत पाएका छैनन् ।

दैनिक २ सय ५० रुपैयाँ बराबरको बिहान बेलुका खानाबाहेक सेवा नभएको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ । बाल माध्यमिक विद्यालय अडेबास र जनता प्राथामिक विद्यालय नोसमा १ सय ३२ जना मजदुरलाई राखिएको छ । १७ वर्षीया अमृता घर्ती एक महिनाकी छोरीसहित क्वारेन्टाइनमा बस्नुभएको छ । पानी परेर चिसो बढेकाले बच्चा स्याहार्न समस्या परेको उहाँको भनाइ छ । बच्चा सेक्ने आगो, न्यानो कपडा छैन । क्वारेन्टानमा बसेको ८ दिनको अवधिमा एक छाक मासु पनि नदिएको घर्तीले बताउनुभयो ।

आठ महिनाअघि श्रीमान्‌सँगै इँटाभट्टामा काम गर्न गएकी ९ महिनाकी गर्भवती रुकमणि विक पनि फर्किनुभएको छ। ‘यस्तो बेला पोषिलो खानेकुरा खानुपर्छ । तर आफुले दुई छाक रुखो खान्की मात्र पाएका उहाँको पीडा छ। लकडाउनकै अवधिमा जिल्लाबाहिर रहेकाहरुलाई जिल्लामा ल्याउने भन्दै काठमाडौं बसेका नेता र केही स्थानीय तह प्रमुखहरुले एक हजारभन्दा बढीलाई जिल्लामा भित्र्याएका छन् । प्रहरीका अनुसार जिल्लामा शुक्रबारसम्म १ हजार ४ जना स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । सुत्केरी, गर्भवती र बालबालिका क्वारेन्टानमा बस्दा केही समस्या देखिएकाले सुधार गर्न अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech