नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७७, शुक्रबार

नेपालगन्ज १९ बैशाख ।

नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालका कोरोना फोकल पर्सन डा.सकेत रिसालले जानकारी दिनुभयो । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । कोरोना संक्रमण पुष्टिपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताउनुभयो । संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएकाले संक्रमित थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने प्रहरीको भनाइ छ।

धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका
नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ।

रुपन्देहीका युवा वैशाख ५ गते दिल्लीबाट फर्किएका थिए

रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थय शाखा प्रमुख उमाशंकर चौधरीले बताउनुभयो । दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मर्चवार आदर्श मावीको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वास्थय अवस्था सामान्य छ । अहिले उनलाई बुटवलको रामनगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनको प्रारम्भिक स्वास्थ्य चेक गर्ने काम भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र खनालले बताउनुभयो ।

  • १९ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech