काठमाडौं १९,भदौ ।
देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा शुक्रबार १३५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर जम्मा संक्रमित संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना डिस्चार्ज भएका छन् । आज देशभर थप १४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।