बाँकेमा आइसीयु र भेन्टिलेटरमा कति छन् संक्रमित विरामी ?

    • स्वास्थ्य पेज

  • १८ भाद्र २०७७, बिहीबार

तस्विरः फाइल

समिरमान श्रेष्ठ -नेपालगन्ज १८, भदौ ।
गएको सोमवार नेपालगन्जका पत्रकार दामोदर भण्डारीलाई उच्च ज्वरो आयो । उहाँलाई श्वास फेर्न पनि अलि असहज भयो । तत्काल एकजना फिजिसियनलाई चेकअप गराउनुभयो । ती चिकित्सकले पीसीआर गर्न सुझाए । सोमवार नै भेरी अस्पतालमा पुगेर नमुना दिनुभयो । मंगलवार रिपोर्ट पोजेटिभ आयो । त्यतीबेला सम्म पत्रकार भण्डारीलाई १०२ डिग्री ज्वरो पुगिसकेको थियो ।

एकछिन बोल्ना साथ स्या…..स्या…हुने भइसकेको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् पत्रकार भण्डारीलाई मंगलवार राती नै फोक्सोमा निमोनिया देखियो । उपचारमा संलग्न एक चिकित्सकका अनुसार, पत्रकार भण्डारीमा एउटा फोक्सोमा निमोनिया देखिएको छ । ‘उहाँमा कोरोना भाइरसको संक्रमण स्पष्ट देखिएको छ ती चिकित्सकले भने–‘उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।’

पछिल्लो समय लक्षण देखिएका संक्रमित बढेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका अनुसार अहिले अस्पतालमा २२ जना संक्रमित विरामी भर्ना भएका छन् । अस्पतालका फिजिसियन तथा कोभिड आइसोलेसनमा खटिएका डा.श्याम विकका अनुसार ११ जनालाई आइसीयुमा राखिएको छ । एकजना गम्भीर संक्रमितको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा. विकले बताउनुभयो । अन्य १० जनालाई कोभिड वार्डमा राखिएको छ ।

‘अस्पतालमा उपचाररत् अधिकांशलाई कोरोना भाइरसकै लक्षण देखिएको छ उहाँले भन्नुभयो–‘हाम्रो टीम उहाँहरुको उपचारमा अहोरात्र खटिएको छ । एकजनालाई रेमडिसिभिर औषधि दिइसकेका छौं । प्लाज्मा थेरापी उपचारका लागि पनि तयारीमा छौं ।’ यस्तै भेरी अस्पताल आइसोलेसनमा ३२ जना लक्षण देखिएका संक्रमित छन् । तीमध्ये दुईजनालाई अक्सिजन दिएर राखिएको अस्पतालका फिजिसियन डा.खगेन्द्र जंग शाहले बताउनुभयो । भेरीले एकजनालाई प्लाज्मा थेरापीबाट उपचार गरिरहेको छ ।

प्लाज्मा पाएका विरामी तंग्रीए
भेरी अस्पतालका आइसोलेसनमा उपचाररत् सल्यान शारदा नगरपालिका–६ का २९ बर्षीय कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्थामा सुधार आएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गएको शुक्रबार उनी भेरी अस्पताल भर्ना भएका थिए । आइतवार स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्लाज्मा थेरोपी उपचारका फोकलपर्सन समेत रहनुभएका फिजिसियन डा. शाहले गम्भीर अवस्थामा रहेका उनलाई प्लाज्मा दिएपछि स्वास्थ्यमा सन्तोषजनक सुधार आएको बताउनुभयो। संक्रमितलाई सोमवार प्लाज्मा दिइएको थियो । ‘उहाँको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको छ उत्साहीत हुँदै डा. शाहले स्वास्थ्य पेजलाई भन्नुभयो–‘सकेसम्म आजै उहाँलाई अक्सिजनबाट बाहिर निकाल्ने तयारीमा छौ ।’ ती संक्रमितलाई नेपालगन्जका वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिनुभएको थियो ।

रेमडिसिभिर दिएका विरामीको अवस्थामा पनि सुधार
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरसबाट संक्रमित कैलाली धनगढीस्थित विशालनगरका ४८ बर्षीय पुरुषलाई एन्टिभाइरल रेमडिसिभिर औषधि दिइएपछि उनको स्वास्थ्य अवस्थामा पनि सुधार आएको छ । संक्रमित ती व्यक्ती नेपालगन्जकै एक न्यायलयका उच्च अधिकारी हुन् ।

उनी सोमवार शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । अस्पतालका फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा.सन्देश पण्डितसहितको टीमले पहिलो पटक संक्रमितलाई मंगलवार रेमडिसिभिर औषधि दिइएको थियो । ‘संक्रमितलाई पहिलो भाइल दिइएपछि नै अवस्थामा सुधार आएको छ कोभिड वार्डको प्रत्यक्ष निगरानीमा खटिएका फिजिसियन डा.विकले स्वास्थ्य पेजलाई भन्नुभयो– ‘एन्टिभाइरल रेमडिसिभिरको फुल डोज दिएपछि हामीलाई विश्वास उहाँको स्वास्थ्य अवस्थामा  सुधार आउने छ ।’

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्नु पर्ने विरामीलाई रेमडिसिभिर औषधि दिइने गरिएको छ । यो अस्पतालले पश्चिम नेपालबाट पहिलोपटक यस्को प्रयोग गरेको छ । जो विरामी भेन्टिलेटरमा छैन र गम्भीर कोभिड छ भने पाँच दिनसम्म (५ डोज) र भन्टिलेटरमा छ भने १० दिनसम्म रेमडिसिभिर औषधि दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

  • १८ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech