कोरोनाका गम्भीर विरामीलाई दिइयो रेमडिसिभिर औषधि

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७७, मंगलवार

प्रियास्मृति ढकाल– नेपालगन्ज १६, भदौ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरसबाट संक्रमित एकजना गम्भीर बिरामीलाई एन्टिभाइरल रेमडिसिभिर औषधि दिइएको छ । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित गम्भीर बिरामीलाई यो अस्पतालले सुई मार्फत रेमडिसिभिर औषधि दिएको हो ।

कैलाली धनगढीस्थित विशालनगरका ४८ बर्षीय पुरुषलाई एन्टिभाइरल रेमडिसिभिर औषधि दिइएको छ । संक्रमित व्यक्ती न्यायलयका उच्च अधिकारी हुन् । उनी सोमवार शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । अस्पतालका फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा.सन्देश पण्डितसहितको टीमले संक्रमितलाई पहिलो भाइल औषधि (खोप) चढाएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा. आसिम किदवाई समेत संक्रमित विरामीको उपचारमा खटिदै आउनुभएको छ ।

कोरोना संक्रमित विरामीको उपचारमा खटिएका फिजिसियन डा.श्याम विक

कोरोना संक्रमित विरामीको उपचारमा खटिएका फिजिसियन डा.श्याम विक

‘संक्रमितलाई पहिलो भाइल दिइएको छ कोभिड वार्डको प्रत्यक्ष निगरानीमा खटिएका फिजिसियन डा.विकले स्वास्थ्य पेजलाई भन्नुभयो– ‘एन्टिभाइरल रेमडिसिभिरपछि पनि विरामीको अवस्थामा सुधार नआए प्लाज्मा दिइने छ ।’ उहाँले प्लाज्मा थेरापी उपचारका लागि पनि आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । त्यसका लागि आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत खडानन्द पाण्डेले ब्लड डोनेट गरिसक्नुभएको छ ।

प्लाज्मादाताः खडानन्द पाण्डे

प्लाज्मादाताः खडानन्द पाण्डे

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसीयूमा राखेर उपचार गर्नु पर्ने विरामीलाई रेमडिसिभिर औषधि दिइने गरिएको छ । यो अस्पतालले पश्चिम नेपालबाट पहिलोपटक यस्को प्रयोग गरेको हो । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरुले कोरोनाभाइरसबाट संक्रमित सिकिस्त बिरामीको उपचारका लागि एन्टिभाइरल रेमडिसिभिर प्रभावकारी हुने देखाएका छन् डा. विकले भन्नुभयो–‘यसक्षेत्रका संक्रमित गम्भीर विरामीका लागि यो एउटा कोसेढुंगा हो ।’

जो विरामी भेन्टिलेटरमा छैन र गम्भीर कोभिड छ भने पाँच दिनसम्म (५ डोज) र भन्टिलेटरमा छ भने १० दिनसम्म  रेमडिसिभिर औषधि दिनुपर्ने चिकित्सकहरु बताउँछन् । यो अस्पतालमा अहिले पनि २० जना विरामी उपचाररत् छन् ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अहिले नेपालमा एन्टिभाइरल रेमडिसिभिर अनुसन्धान गरिरहेको छ । यो अनुसन्धानका लागि सरकारले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई पनि सिफारिस गरेको छ । उक्त अनुसन्धानको संयोजन डा. सुमित पाण्डेले गर्नुभएको छ ।

  • १६ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech