कोभिड अस्पतालमा आईसीयू नर्सको सकस

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७७, सोमबार

सिर्जना ढकाल- नेपालगन्ज १५, भदौ ।

म ब्याङ्लोरमा काम गरेर गतवर्ष नेपाल फर्किएकी थिएँ । नेपाल फर्किएपछि एकवर्ष नर्सिङ पढाएर बसेँ । छ महिनाअघि बिहे पनि भयो । गत १ वैशाखबाट करार कर्मचारीको रूपमा लुम्बिनी प्रादेशिक कोभिड अस्पतालमा काम गर्न थालेँ । मणिग्राममा भएको घरमा पुग्नको लागि डेढ घण्टासम्म गाडीमा यात्रा गर्नुपथ्र्यो, म घरबाटै आउआउ गर्थेँ ।

लुम्बिनी अस्पतालमा मैले काम सुरु गरेको केही समयमा नेपालमा पनि कोरोना संक्रमण फैलन थाल्यो । नभन्दै १४ जेठमा म कार्यरत अस्पतालमै कोभिडको बिरामी ल्याइयो ।

कपिलवस्तुबाट अचेत अवस्थामा संक्रमितलाई अस्पताल ल्याइएको थियो । एम्बुलेन्सले बिरामीलाई भुइँमा छाडेर गयो । हामीले नै बिरामीलाई उठाएर आईसीयूसम्म पुर्‍यायौं । त्यो किनभने मैले ब्याङ्लोरमा एकवर्ष आईसीयूमा काम गरेको कारण लुम्बिनीमा पनि आईसीयूमै ड्युटी गर्नुपरेको थियो । तर उक्त बिरामीलाई भेन्टिलेटरमै राख्नुपर्‍यो । उहाँ नै नेपालमा पहिलो भेन्टिलेटर राखेर उपचार गरेको बिरामी हो । हामीले पीपीई लगाएर भेन्टिलेटरमा रहेका बिरामीको उपचारमा खटिनुपर्ने भयो ।

आईसीयू र भेन्टिलेटरमा कसरी काम गर्ने भनेर त विभिन्न तालिम लिएका थियौं । तर कोभिडकै बिरामीलाई कसरी स्याहार गर्ने भन्नेबारे भने कुनै जानकारी थिएन । यसका लागि हामी सबै स्वास्थ्यकर्मीहरू सिकारुजस्तै थियौं । एकातिर अचेत रहेको बिरामीको उपचार गर्नुपरेको थियो भने अर्कोतर्फ कोरोनाको बिरामीलाई हेरचाह गर्दा के हुने हो भन्ने त्रासले घेरेको थियो । त्यही दिन झन् मेरो डबल ड्युटी पर्‍यो ।

त्यसपछि त धमाधम हाम्रो अस्पतालमा कोभिडका बिरामीहरू आउन थाल्नुभयो । खासमा संक्रमित भएर सास च्यापेपछिमात्र बिरामीहरू अस्पतालसम्म आउनुहुन्थ्यो । घरबाट भने त्यसरी काम गर्नुपर्दैन भनेर बारम्बार फोन गर्नुहुन्थ्यो, सम्झाउनुहुन्थ्यो । तर पढेको नै यही भएपछि काम गर्नुको विकल्प थिएन मसँग । त्यसैले कहिल्यै पेसाबाट हात झिक्ने सोचसम्म बनाइन ।

पीपीई लगाउनुपर्छ र ड्युटी छिर्नुपर्छ । आईसीयूमा काम गर्ने भएकाले ड्युटी अवधिभर नै पीपीई लगाएर वार्डमा खटिनुपर्ने हुन्छ । अरूभन्दा पनि नियमित पीपीई लगाएर काम गर्दा निकै सकस हुँदोरहेछ । एक त गर्मीको मौसम, अर्कोतर्फ पीपीई खोल्न नपाइने । न भोकमा खान खान पाइने, न बाहिरको हावा नै । ड्युटी सकिएपछि बाहिर निस्कँदा पीपीई पसिनाले लुछुप्पै भएको हुन्छ । आठ घण्टासम्म पसिनामा डुबेर निरन्तर ड्युटी गर्दा हुने सकसको अनुभूति हामी महिला स्वास्थ्यकर्मीले मात्र गर्न सक्छौं ।

सबैभन्दा समस्या त महिनावारी हुँदा पर्छ । एकपटक पीपीई लगाएपछि खोल्न नमिल्ने भएकाले ट्वाइलेट जानसमेत समस्या पर्छ । संक्रमण फैलिन नदिन ड्युटी सकेपछि नुहाएर मात्रै घर जानुपर्छ ।

जसरी–तसरी आठ घण्टा कटाउनुपर्छ । एकातिर बिरामीको हेरचाहको लागि दौडधुप गर्नुपर्छ भने अर्कोतर्फ आफ्नै स्वास्थ्यले अग्निपरीक्षा लिएजस्तो भान हुन्छ । त्यस्तो अवस्थामा कसरी काम गर्छौं होला रु तपाईं आफैँ अनुभूति गर्नुस् । तर पनि हाम्रो काम नै यही हो, सम्झौता गर्नुपर्छ भनेर आफ्नै चित्त बुझाउँछौं र कोभिडका बिरामीको उपचारलाई निरन्तरता दिन्छौं ।

डाक्टरले बिरामीको डाइग्नोस्ड गरेपछि सबै काम हामी स्टाफ नर्सको जिम्मामा आउँछ । मुख सफा गर्ने, मेडिकेसन, नसाबाट औषधि दिनेदेखि क्यानुला फेर्नेसम्मको काम गर्नुपर्छ । पीपीईबाट नसा देख्न भेट्टाउन गाह्रो पर्छ र पनि घोरिएर क्यानुला लगाउनेरफेर्ने गरिरहनुपर्छ ।

यसरी कोभिडको बिरामी हेर्न थालेपछि घर जान पनि बन्द भयो । हस्पिटलमा कोरोनाका बिरामीहरूसँग जोखिम मोल्यो अनि होटेलमा गएर बस्यो । सुरु सुरुमा त श्रीमान् काम नगर भन्नुहुन्थ्यो । तर काम गर्नैपर्ने अवस्था आएपछि भने उहाँले उत्प्रेरणा दिन थाल्नुभयो । उहाँको उत्प्रेरणाले पनि आत्मबल बलियो बनाउनका लागि मद्दत गर्‍यो ।

अहिले हस्पिटलको आईसीयू र भेन्टिलेटर कोभिडका बिरामीले भरिएका छन् । आईसीयूमा १७ जना कोभिड बिरामी उपचाररत हुनुहुन्छ । सुरुमा उपचार गर्दा त्रास भए पनि अहिले भने बानी पर्दै गएका छौं ।

गत १४ जेठदेखि दुईपटक मात्र घर गएर आएकी छु । १४ दिन ड्युटी गरेपछि एक हप्ता क्वारेन्टिनमा बस्छौं र पीसीआर परीक्षण गर्छौं । पीसीआर नेगेटिभ आएको बेला घर गएर फर्किहालेको थिएँ । तर अस्पतालका थुप्रै स्वास्थ्यकर्मीहरूलाई संक्रमण देखिन थालेपछि भने घर जान पनि बन्द गरेकी छु । भिडियो कल गरेर घर र माइतको तिर्सना मेटाउँछु ।

कहिलेकाहीँ त निराशाले पनि च्याप्ने गर्छ । मानिस हो एक्लै बस्दा अनेक सोच त आइहाल्छन् । साथीहरूले पनि यस्तो काम त छोड्नुपर्छ कि भन्नुहुन्छ तर गर्नु त यही छ । त्यसैले एकअर्कामा उत्प्रेरणा भर्छौं र काममा फर्कन्छौं । धन्न अहिलेसम्म कोरोना संक्रमणचाहिँ भएको छैन । तर कोरोना लाग्ला कि भनेर डराएको भने छैन । आगोसँग खेल्ने मान्छेले पोल्ला कि भनेर किन डराउने

लुम्बिनी प्रादेशिक कोभिड अस्पताल, बुटवलकी आईसीयू नर्स ढकालसँग अनलाइनखबरका विश्वास खड्काथोकीले गरेको कुराकानीमा आधारित ।


Nabintech