कोरोनाको कहरः भेरी अस्पतालको नियमित सेवामा कटौती

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७७, बुधबार

नेपालगन्ज १०, भदौ ।
कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका दुईजना बरिष्ठ चिकित्सकहरु भाइरस संक्रमित भएपछि भेरी अस्पताल नेपालगन्जले आफ्नो सेवालाई खुमच्याएको छ । अस्पतालमा भाइरस संक्रमणको जोखिम नहोस् र थप चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमणको चपेटामा नपरुन् भन्ने उद्देश्यले ओपिडी सेवा १२ बजेपछि बन्द गर्न सुरु गरिएको अस्पतालका मेसु डा. प्रकाश थापाले बताउनुभयो ।

‘सेवा नै बन्द गरिएको छैन् उहाँले भन्नुभयो–‘अव विरामी संख्या तोकेर सेवा दिइरहेका छौं ।’ अस्पतालले अहिले ३० जनालाई मात्र ओपिडी सेवा दिइरहेको छ । ‘सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई विरामीको सेवामा खटाउँदा भोली सबैलाई संक्रमणको जोखिम हुन्छ उहाँले भन्नुभयो–‘त्यस्तो अवस्थामा सबै सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । निश्चित चिकित्सक र स्वास्थ्यकर्मीलाईमात्र एक्सपोज गरेर सेवामा खटाइरहेका छौं ।’ उहाँले सिफ्टवाइज चिकित्सक र स्वास्थ्यकर्मी परिचालनको तयारी भइरहेको बताउनुभयो ।

‘चिकित्सक र स्वास्थ्यकर्मीको दुई समूह बनाएर हप्ता दश दिन एउटा समुह र त्यसपछि अर्को समूहलाई डिउटीमा खटाउने गरी तयारी थालिएको छ’ उहाँले भन्नुभयो । भेरीका जनरल वार्ड विभिन्न किसीमका रोगी विरामीले भरिएका छन् । जनरल वार्डमा १५० वेड छन् । तर कोभिड–१९ का कारण अहिले ५० वेडमा झारिएको छ । ती सबै भरीभराउ छन् । सय वार्ड कोभिड–१९ बिशेष अस्पतालका लागि छुट्याइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा संक्रमण बढ्दै गए अस्पतालको इर्मेजन्सी बाहेकका सबै बन्दै गर्नु पर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
अस्पतालका कोरोना फोकलपर्सन डा.संकेत रिसाल र प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेलाई भाइरस संक्रमण भएपछि उहाँहरुको सम्पर्कमा रहेका चिकित्सकसहित एकदर्जन स्वास्थ्यकर्मी अहिले क्वारेन्टिनमा बसिरहेका छन् । क्लोज कन्ट्याक्टमा रहेकाहरुको नमुना संकलन गर्ने काम भइरहेको मेसु थापाले बताउनुभयो ।

भेरीमा दुई डाक्टरसहित चारजनामा भाइरस संक्रमण देखिएको छ । प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा ती प्रदेशका विभिन्न जिल्लाबाट विरामीहरु सेवा लिन आउने गरेका छन् ।

  • १० भाद्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech