कोरोनाको कहरः एकसातामा ५६ जनाको मृत्यु, किन बढिरहेको छ मृत्यु ?

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७७, सोमबार

काठमाडौं ८, भदौ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट एकसातामै ५६ जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएसँगै एक सातामै भाइरस संक्रमणबाट ५६ जनाले ज्यान गुमाएका छन् । उमेर ढल्केका र दीर्घरोगीहरु कोरोना महामारीको चपेटामा परेका छन् ।

लक्षण देखिएका संक्रमित बढ्दै जानु र अस्पतालहरुमा भेन्टिलेटर र आइसीयुहरुको अभाव हुँदा क्षतीको जोखिम झन बढेको छ । अहिलेसम्म नेपालमा भाइरस संक्रमणबाट १५७ जनाको मृत्यु भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

किन बढिरहेको छ मृत्यु ?

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु जेठ ३ गते पुष्टि भएको थियो । साउन महिनामा मृत्युदर बढ्यो । र, भदौमा मृत्युको ग्राफ अझ उकालो लागेको छ । साउन ३२ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ थियो । भदौ ७ गते यो संख्या बढेर १५७ पुगेको छ ।

अनलाइनकर्मीसँगको कुराकानीमा संक्रमक रोग बिशेषज्ञ डा. अनुप सुवेदीले अहिले भइरहको मृत्यु कम्तिमा पनि तीन हप्ता अगाडि फैलिएको कोरोना संक्रमणको रिजल्ट भएको बताउनुभयो । उहाँका अनुसार समुदायमा जुन स्तरमा संक्रमण फैलिएको छ, त्यो लेभलमा टेष्ट र कन्ट्याक ट्रेसिङ हुन सकेको छैन ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार एक जनामा संक्रमितले उसको सम्पर्कमा आएको ५-७ जनालाई संक्रमण सारेको हुनसक्छ । त्यो संक्रमितलाई पत्ता लगाएर उसको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने, संक्रमितलाई पत्ता लगाउने र आइसोलेट गर्ने काम जति छिटो हुनसक्यो, त्यही महामारी नियन्त्रण गर्न सम्भव हुन्छ । डा. सुवेदी भन्नुहुन्छ, हामीले अझै त्यसअनुसार गर्न सकेको छैनौं ।’

पछिल्लो समय जिल्ला जिल्लामा निषेधाज्ञा लगाइएको छ । तर यो अवधिमा समुदायमा भएको सम्भावित संक्रमितको पहिचान गर्ने काम जसरी हुनपर्ने हो, त्यो भएको छैन । भित्रभित्रै फैलिएको संक्रमणलाई समुदायमा पुग्नबाट रोक्न सकिएन भने पनि मृत्युदर अझै बढ्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

  • ८ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech