कोरोना विशेष अस्पतालका आइसीयु संक्रमितले भरिएपछि बाँके र दाङ ल्याउने तयारी

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७७, आईतवार

नेपालगन्ज ६, भदौ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा रहेका आइसीयु बेड लक्षणसहितका संक्रमितले भरिएका छन्। कोरोना विशेष अस्पतालका सबै आइसीयुहरु संक्रमितले भरिएपछि अव कोरोना भाइरसका संक्रमित थपिए बाँके र दाङ ल्याउने तयारी भएको छ ।

अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाका अनुसार, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि अव बेड नभएको डा थापाले बताउनुभयो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेका दईजनाको अवस्थामा भने गम्भीर रहेको डा थापाले बताउनुभयो। गम्भीर विरामी एकजना रुपन्देहीका र अर्का एकजना कपिलवस्तुका हुन्। आइसीयुमा उपचाररत ६ जनाको अवस्था पनि गम्भीर छ। ८ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको उहाँले बताउनुभयो।

ती बिरामीहरुमा ज्वरो, निमोनिया, रुघाखोकी, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका छन्। अरु २१ जना संक्रमितको जनरल वार्डमा राखेर उपचार भइरहेको छ।

बुटवलमा बेड भरिएपछि बुटवलभन्दा बाहिर दाङ, बाँके र रुपन्देहीकै भैरहवामा बिरामीहरु भर्ना गर्ने तयारी प्रदेश सरकारले गरेको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले सम्भव भएसम्म आइसीयु बेड थप गर्ने र थप बिरामी बढ्दै गए अन्यत्र लैजाने बताउनुभयो।

प्रदेश ५ सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आईसीयु कक्ष बनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भीम अस्पताल भैरहवामा पाँच, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्या पीठ बेलझुण्डी दाङमा पनि १० वटा आईसीयु बेड छन्। बाँके र दाङका आइसीयु कक्ष खाली छन् भने भैरहवाको भीम अस्पतालमा जनशक्ति अभाव छ।

  • ७ भाद्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech