लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७७, शनिबार

काठमाडौं ६ भदौ ।
पछिल्लो समय कोरोना संक्रमितमा लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन दिनु परेको तथ्य बाहिर आएको छ । कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम कम गर्न ‘अक्सिजन थेरापी’ मा मुख्य ध्यान केन्द्रित गर्न विज्ञहरूले सुझाएका छन् ।

कोरोना भाइरसले बूढापाकासँगै मधुमेह, निमोनिया, क्यान्सर, मुटुरोगी, गर्भवती महिलामा तीव्र गतिले अक्सिजनको मात्रा कम गरेको विज्ञहरूको भनाइ छ । ‘पहिले गम्भीर लक्षण थिएन । अहिले बिरामीमा तीव्र गतिले खोकी, ज्वरो, फोक्सोको संक्रमण, अक्सिजनको मात्रा कमी देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले भन्नुभयो, ‘मुलुकभरमा लक्षण देखिएकामध्ये सरदर एक चौथाइलाई अक्सिजन दिइएको छ ।’

केही साताअघिसम्म ९९.७ प्रतिशत कोरोनाका बिरामीमा कुनै लक्षण थिएन । अहिले भने लक्षण भएका संक्रमित बढिरहेका छन् । ‘भाइरसले फोक्सो र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुनाले शरीरमा अक्सिजनको स्तर कम हुन्छ,’ डा.पाण्डेले भन्नुभयो, ‘हाल कोरोना बिरामीलाई सबैभन्दा बढी चाहिने नै अक्सिजन हो । लक्षण देखिएका बिरामीलाई अक्सिजन दिनुपर्छ ।’ कोरोनाका बिरामी भेन्टिलेटरमा गएपछि फर्काउन गाह्रो हुने जनाउँदै उहाँले आवश्यक पर्नासाथ तुरुन्त अक्सिजन थेरापी दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय कोरोना संक्रमितमा धेरै छिटो स्वास्थ्य अवस्था बिग्रिने देखिएकाले सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अक्सिजन चाहिने संक्रमितमा ४० वर्षमाथिका धेरै छन् । ६० वर्षमाथिका बिरामीलाई अक्सिजन अनिवार्य जस्तै भएको छ । ‘हामीले कोभिड उपचारमा मुख्य रूपले अक्सिजन थेरापीमा ध्यान केन्द्रित गर्नुपर्छ । हरेक स्वास्थ्य निकायमा अक्सिजन पर्याप्त उपलब्ध हुनुपर्‍यो,’ टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बाँस्तोलाले भन्नुभयो, ‘कोभिडमा अन्य उपचार आवश्यकताअनुसार हो भने मुख्य उपाय नै अक्सिजन थेरापी हो । बिरामीको गम्भीरताअनुसार कति मात्रामा अक्सिजन दिने भन्ने निर्धारित हुन्छ ।’ उहाँका अनुसार कोरोना संक्रमितको स्वास्थ्य स्थिति स्थिर लागे पनि भित्रभित्रै अक्सिजन कमी भइसकेको हुन्छ ।

वीरगन्जस्थित हेल्थ केयरमा १ सय २ कोरोना संक्रमितमध्ये ४० जनालाई, गण्डक अस्पतालमा रहेका ५१ मध्ये १५ जनालाई अक्सिजन दिइएको नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निरज सिंहले जानकारी दिनुभयो । सरकारले अक्सिजन आपूर्तिमा समस्या हुन नदिन तुरुन्त व्यापक तयारी थाल्नुपर्ने उहाँले बताउनुभयो । कोसी अस्पतालमा शुक्रबार भर्ना भएका चार जना संक्रमितलाई निरन्तर १० लिटर प्रतिघण्टा अक्सिजन दिनुपरेको छ ।

उनीहरूको स्वास्थ्य कृत्रिम अक्सिजनमा पूरै निर्भर छ । अस्पतालका अन्य संक्रमितलाई भने बेलाबेला अक्सिजन आवश्यक पर्ने गरेको छ । धेरैजसो ठाउँमा आफ्नै अक्सिजन प्लान्ट भएकाले अक्सिजन अभाव नहुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । ‘नभएको ठाउँमा प्लान्ट हाल्ने प्रयास गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो, ‘हाल भएका अक्सिजन प्लान्टहरू पूर्ण क्षमताअनुसार चौबीसै घण्टा चलाएर अन्य अस्पतालहरूलाई समेत अक्सिजन आपूर्ति गर्नुपर्छ ।’ उहाँले कुनै पनि अस्पतालबाट अक्सिजन अभाव भएको जानकारी नआएको बताउनुभयो ।

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech