कोरोना संक्रमित गर्भवतीको सफलतापूर्वक शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७७, शनिबार

नेपालगन्ज ६ भदौ ।
नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रियामार्फत बच्चा निकालिएको छ । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ बर्षिया संक्रमित गर्भवतीको आज शनिवार विहान ९ः १० बजे शल्यक्रियामार्फत बच्चा (छोरी) निकालिएको अस्पतालका सहायक निर्देशक डा.दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती संक्रमित गएराती साढे तीन बजे अस्पताल भर्ना भइकी थिइन् । प्रसूती व्याथाले च्यापे पछि उनी बुटवल लुम्विनी प्रादेशीक अस्पतालमा भर्ना भएकी थिइन् । श्रीमानलाई संक्रमण भएको थाहा पाएपछि अस्पतालले ती गर्भवतीको पनि नमुना लिएको थियो । तर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले तत्काल त्यहाँबाट कोभिड लेभल ३ को रुपमा रहेको शिक्षण अस्पताल कोहलपुर रेफर गरेको थियो ।

एम्वुलेन्सले ल्याउन नमानेपछि उनलाई नीजि गाडीमा ६ घण्टा लगाएर कोहलपुर पुर्याइएको हो । डा. श्रेष्ठका अनुसार, ती गर्भवतीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । बच्चाको तौल २ किलो ६ सय ग्राम रहेको उहाँले बताउनुभयो ।

‘क्रिटिकल केस थियो डा. श्रेष्ठले स्वास्थ्य पेजसँग भन्नुभयो–‘सर्जरी डाक्टरहरुकै उपस्थितिमा सफलतापूर्वक शल्यक्रिया गरिएको छ आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य छ ।’ डा.राम विश्वास, डा.विनोद महासेठलगायतको टीमले शल्यक्रिया गरेको थियो । यसअघि पनि उनको पहिलो बच्चा शल्यक्रियामार्फत निकालिएको थियो । कोडिभ ३ लेभलको यो अस्पतालमा अहिलेसम्म चारजना गर्भवतीको शल्यक्रिया गरिएको छ । रुकुम चौरझारीकी गर्भवतीको शल्यक्रियामार्फत बच्चा निकालिएपनि बच्चाको दुई दिन पछि मृत्यु भएको थियो ।

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech