चितवन र वीरगन्जमा थप दुईजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७७, शनिबार

तस्विरः फाइल

चितवन ६, भदौ ।
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ तीन गते निमोनिया भएर उपचारका लागि आएका हेटौडाका ७५ वर्षीय वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । बाँकी दुई जनामध्ये एक जना कैलाली र अर्को मकवानपुरका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण वीरगञ्जमा शुक्रबार राति थप एकजनाको मृत्यु भएको छ।कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली बिर्ता टोल बस्ने ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारको क्रममा शुक्रबार राती ८ बजेर ५ मिनेटमा मृत्यु भएको हो। भदौ ४ गते मात्रै ती पुरुषको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा त्यसको भोलिपल्ट भदौ ५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।  स्वासप्रस्वासमा समस्या रहेको मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ।

  • ६ भाद्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech