नेपालमा कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

तस्विरः फाइल

काठमाडौं ०२, भदौ ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । बाँके, बर्दिया, काभ्रे कास्की, तनहुँ, चितवन र नवलपरासी पश्चिममा १-१ जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा नेपालगञ्ज उपमहानगरपालिका– ५ का ६२ वर्षका पुरुषको उपचारका क्रममा मंगलबारराती मृत्यु भएको हो ।साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको थियो ।

बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मृत्‍युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार विहान मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि मात्रै मंगलबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो । बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलामी गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सील गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमवार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।‘कोरोना परीक्षण गर्दा २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उनको निधन भएको हो ।

तनहुँको ब्यास नगरपालिका १ अम्रेनिकी ५० वर्षकी महिलाको मृत्‍युपछि कोरोना संक्रमण पुष्टि भएको हो । पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको थियो भने मंगलबार विहानमात्र कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिनुभयो ।

मंगलबार नै पोखरा महानगरपालिका९ १६ का ८७ वर्षीय वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मधुमेह र मिर्गौलाको समस्या देखिएका वृद्धको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ।

नवलपरासी पश्चिमका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान पाटन अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको हो ।

चितवनको खैरहनी नगरपालिका ३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको उनका परिवारका सदस्य कमल पाठकले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सं‌ख्‍या १ सय १६ पुगेको छ । मंगलबार मृत्यु भएको चितवनकी वृद्धा र बर्दियाका वृद्धको मृत्युको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा अपडेट गरिएको छैन ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech