बर्दियाको मधुवनमा खैलाबैला, मृतकको दाहसंस्कारपछि मात्र रिपोर्ट कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

नेपालगन्ज ०२, भदौ ।
बर्दियाका कोरोनाबाट मृत्यु भएका व्यक्तिलाई रिपोर्ट नआउँदै स्थानीयबासीले दाहसंस्कार गरेको खुलेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मंगलवार विहान मृत्यु भएको थियो । उनको सोमवार नमुना संकलन गरेर भेरी अस्पतालमा पठाइएको थियो र रिपोर्ट मंगलवार दिउँसो मात्र आएको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उनको घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि भएको स्वास्थ्य पेजलाई बताउनुभयो । ‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएको छ । मलामी गएका सबैलाई क्वारेन्टिनमा राख्न सुरु गरेका छौं उहाँले भन्नुभयो–‘संक्रमितको बस्ती सील गरेका छौं ।’ कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण गर्यो त्यसबारे छानबिन गरिने उहाँको भनाइ छ ।

बबई नदीको कुसुम्बा घाटमा शव दाहसंस्कार हुँदा करिव पाँच सयको हाराहारीमा स्थानीय सहभागी भएको खुलेको छ । त्यसमध्ये शवसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक सयभन्दा बढी व्यक्तिलाई नेरामावि पूर्णपुर क्वारेन्टिनमा राख्ने लागिएको छ । रिपोर्ट नआउँदै मृतक व्यक्तिलाई कसरी पठाइयो ? नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले भन्नुभयो–‘मृतकका आफन्तहरुले शव लैजान्छौ भनेर जिद्दि गर्नुभयो । सामाजिक दूरी कायम गर्ने र कम मलामीको उपस्थितिमा अन्त्यष्टि गर्ने जिम्माका साथ शव बुझाइएको हो ।’ उहाँले शव राख्ने नराख्ने जिम्मा अस्पतालको नभएको समेत दावी गर्नुभयो ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech