कोरोनाबाट पोखरामा दुई र धुलीखेलमा एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

काठमाडौं ०२, भदौ ।
कोरोनाबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । पोखराका दुई र धुलीखेलका एक गरी थप तीनजनाको मृत्यु भएको हो । पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको सोमबार राति ११ः३५ मा आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालका निर्देशक डा पदमबहादुर खड्काका अनुसार संक्रमित महिलामा हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या थियो ।

त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कास्की जिल्ला पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको छ । उनी साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए। उनी हाइपरटेन्सन, सुगर र दीर्घ मिर्गौला रोगी थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।

त्यस्तै धुलिखेल निवासी ९८ वर्षीय पुरुषको सोमबार राती ११ः३० मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.सुमन ताम्रकारले जानकारी दिनुभयो । उनी एक हप्ता अगाडि ज्वरो र खोकी लागपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । त्यसको दुई दिन पछि उनमा स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो । योसँगै नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech