बाँकेमा निको भएका संक्रमितले ब्लड नदिँदा प्लाज्मा थेरापी उपचार प्रभावित

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७७, मंगलवार

प्रियास्मृति ढकाल–नेपालगन्ज ०२, भदौ ।
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा.आसिम किदवाईले सोमवार दिउँसो ‘नेपालगन्ज ग्यालरी’ (जुन एकलाख बढी सदस्य रहेको फेसबुक ग्रुप अहिले पश्चिम नेपालकै चर्चित र धेरै सदस्य भएको ग्रुप हो) मा एउटा महत्वपूर्ण सूचना पोष्ट गर्नुभयो । सूचनामा भनिएको थियो–‘कोरोना संक्रमणबाट मुक्त भएकाबाट ‘ए पोजेटिभ’ ब्लड चाहिएकाले तत्काल डोनेट गर्न अनुरोध गरिन्छ ।’

‘गम्भीर अवस्थामा अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित ६२ बर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाटै उपचार गरेर ज्यान जोगाउने हाम्रो हरसम्भव प्रयास थियो डा.किदवाईले स्वास्थ्य पेजसँग भन्नुभयो –‘तर संक्रमणबाट मुक्त भएकाहरुले ब्लड डोनेट नगर्दा प्लाज्मा थेरापीबाट उपचार गर्ने प्रयास हुन सकेन् ।’ ती संक्रमित पुरुषले सोमवार राती ११ः४० बजे मृत्यु वरण गरे । प्लाज्मा ‘थेरापीबाट उपचार गर्ने वित्तिकै विरामीको ज्यान जोगिहाल्छ भन्ने चाही होइ्न तर त्यसको कोसिस नै गर्न पाइएन’–उहाँले भन्नुभयो ।

सरकारले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगन्जलाई प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न अनुमति दिएको छ । कोरोनाबाट गम्भीर विरामी भएकाहरुलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ । नेपालमा पनि एकजना चिकित्सक प्लाज्मा थेरापी उपचार पद्धतिबाट निको भइसकेका छन् । अहिले वि पी कोइराला प्रतिष्ठान धरानले एकजना कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिरहेको छ ।
प्लाज्मा थेरापीबाट उपचार अनुमति पाएका बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरले यो सेवा सुरु गरेका छैनन् ।

कोरोना भाइरस संक्रमणबाट निको भएकाहरुले रगत दान नगर्दा प्लाज्मा थेरापी उपचार सेवा सुरु हुन नसकेको हो । बाँकेमा कोरोना संक्रमणबाट आज मंगलवारसम्म चार सय ६८ जना निको भइसकेको तथ्याङक छ । तर तिमध्ये अहिलेसम्म एकजनाले पनि रक्तदान गरेका छैनन् । जवकी संक्रमित व्यक्ति निको भएपछि उस्ले ब्लड डोनेट गरेपछि मात्रै प्लाज्मा थेरापी उपचार सम्भव छ ।

भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा प्लाज्मा थेरापी उपचारको लागि फोकलपर्सनका रुपमा तोकिएका डा.खगेन्द्र जंग शाहका अनुसार, अहिलेसम्म संक्रमणबाट निको भएका व्यक्तिबाट ब्लड डोनेट भएको छैन् । ‘५–७ जनाको नाम लिष्टिङ भएको छ डा. शाहले स्वास्थ्य पेजसँग भन्नुभयो–‘जवरजस्ती ब्यड दिनुहोस् भनेर भन्न मिलेन स्वःस्र्फुतरुपमा दिने निकै कम हुनुहुन्छ हामी उहाँहरुलाई सम्झाइरहेका छौं ।’ भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा प्लाज्मा छुट्याउने मेसिन समेत छैन् । प्लाज्मा छुट्याउने मेसिन नहुँदा सिधै व्यक्तिले ब्लड दिनु पर्ने अवस्था छ ।

‘शरिरबाट सिधै प्लाज्मा मात्र निकाल्ने मेसिन नेपालगन्जमा छैन् डा.किदवाईले भन्नुभयो–‘अहिले ब्लड निकालेर प्लाज्मा छुुट्याउने गरिएको छ ।’ मेसिनबाट प्लाज्मा निकाल्दा एउटा व्यक्तिबाट चार जनालाई पुग्ने डोज निकाल्न सकिने चिकित्सकहरु बताउँछन् । भेरी अस्पताल मातहतको कोरोना विशेष अस्पताल खजुराबाट निको भएर संक्रमितहरुलाई ब्लड डोनेसनका लागि प्रेरित गर्ने जिम्मेवारी भेरी अस्सपताललाई छ । र अन्य पालिकाका संक्रमणबाट निको भएकाहरुलाई त्यही पालिकाका स्वास्थ्य शाखाले सम्वन्य गरेर ब्लड डोनेसनका लागि प्रेरित गर्ने जिम्मेवारी दुई साता अघि नेपालगन्जमा बसेको सम्वद्ध सरोकारवालाहरुको बैठकले गरेको थियो ।

  • २ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech