कोरोना कहरः नेपालगन्जमा स्वास्थ्य सुरक्षा मापदण्ड खोई ?

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७७, सोमबार

मालपोत कार्यालयमा सेवाग्राहीको भीडभाड । तस्विरः श्री विकास भटराई

समिरमान श्रेष्ठ- नेपालगन्ज ०१, भदौ ।
लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण समुदायस्तरमै देखिन थालेपछि स्थानीय प्रशासनले बाँकेमा करिव दुई साता लामो निषेधाज्ञा जारी गर्यो । तीन दिन त नेपालगन्ज एरिया नै सील गर्यो । संक्रमण फैलिनेक्रम रोकिएन् । स्थानीय प्रशासनले गएको साउन १८ गतेदेखि जारी निषेधाज्ञा शनिवारदेखि हटायो । र जोर विजोर प्रर्णाली लागु गर्यो ।

भाइरस समुदायस्तरमै फैलिएकाले त्यसको चेन तोड्न निषेधाज्ञा लगाएको दावी गरेको प्रशासनले चेन नतोड्दै निषेधाज्ञा किन हटायो ? समुदायस्तरमा भाइरस संक्रमितहरु थपिने क्रम रोकिएपछि निषेधाज्ञा हटाइएको हो ? कि हटाउने र लगाउने सनकको भरमा निर्णय हुन्छ ? निषेधाज्ञा हटाउने निर्णयबारे बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भन्नुभएको थियो–‘जोखिम कायमै छ तर अहिलेका लागि निषेधाज्ञा हटाइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ पालना गराइने छ ।’

जोखिम कायमै भएको भए निषेधाज्ञा किन हटाइयो ? बाँकेमा निषेधाज्ञा हटाइएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना भएको छ त ? न जोखिम हट्यो, न त स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना भएको देखियो । संक्रमित थपिनेक्रम रोकिएको छैन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना पनि भएको छैन् । निषेधाज्ञा हटाइएको भोलीपल्टै शनिवारदेखि बाँकेमा नीजि सवारीसाधनमा जोर विजोर प्रर्णाली लागु गरियो । त्यसको मार अटो चलाएर साँझ विहानको जोहो टार्ने तिनै मजदुरलाई परेको छ । पुष्पलाल चोकदेखि धम्वोजी पुग्दा प्रहरीले अटो रोक्यो । चालकले मास्क अलि तल सारे । प्रहरीले हप्काउँदै भने–‘आज जोर नम्बर भएकामात्र चल्न पाउने तलाई थाहा छैन् फाइन काट् ।’

अटो चालकले प्रतिउत्तर दिए मेरो जोर नम्वर नै हो सर । प्रहरीले फेरि हप्काए कहाँ छ जोर नम्वर देखा ? अटोबाट झरेर ति चालकले देखाए नम्वर प्लेटको माथिल्लो अंक ४ । प्रहरीले हप्काउँदै अटोको नम्वर प्लेटको अल्फाबेटको अन्तिम अंक औलाले देखाउँदै भने यो हो जोर विजोर अंक । जोर अंक चलाउनु पर्ने दिनमा विजोर नम्वरको अटो चलाएको भन्दै प्रहरीले चालकलाई सय रुपैयाँ जरिवाना तिरायो । केही मजदुरहरुलाई त जोर विजोर प्रर्णालीबाट नै स्पष्ट रहेनछ । ती चालक तिनै मध्येका एक थिए । प्रहरी प्रशासनको सिंगो ध्यान सडकमा अटो र मोटरसाइकलमा छ । त्यो पनि पहँुच नभएकाहरुका लागि मात्र । पहुँच भएकाहरुलाई जोर विजोर प्रर्णालीले खासै प्रभाव पारेको छैन् ।

मानिसहरुको भीडभाड बढी हुने ठाउँमा प्रहरी प्रशासनको उपस्थिति छैन् । न त्यहाँ मास्कको प्रभावकारी तरिकाले प्रयोग नै भएको देखिन्छ, न त सामाजिक दूरीको पालना । नेपालगन्जका बैंकहरुमा लाग्ने भीडले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गराउने प्रशासनको भनाइको खिल्ली उडाएको छ । नेपालगन्जका अधिकांश बैंकहरुमा लाग्ने भीडले कोरोना भाइरसको जोखिम उच्च देखिन्छ । कोरोना भाइरस बैंकमा समेत पुगिसकेका छ ।

मालपोत कार्यालयमा सेवाग्राहीको भीडभाड । तस्विरः श्री विकास भटराई

तस्विरः दिपेन्द्र उप्रेती

बैंकहरुमा लाग्ने अस्वभाविक भीडलाई व्यवस्थित गराउने दायित्व कस्को ? प्रहरी प्रशासनको वा सम्वन्धित बैंकको ? कि सेवा लिने नागरिकको ? बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ भन्नुहुन्छ–‘प्रहरी प्रशासनले गर्ने काम सबै गरेको छ । तर नागरिकले मास्कै लगाइदिनु हुन्न् के गर्ने ? दूरी कायम गरेर सेवा लिदिनु पर्यो भनेर भनिराछौं तर दूरी कायम गर्नु हुन्न् ।’ भीडभाड हुने सरकारी कार्यालयहरुको हविगति पनि उस्तै छ ।

दुई हप्तापछि नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालय आइतवारबाट खुलेका छन् । यी कार्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर सेवा दिने प्रतिबद्धता जनाएका छन् । भीडभाड हुने अर्को मालपोल कार्यालयको अवस्था हरिविजोग छ । यहाँ पनि न सामाजिक दूरीको पालना भएको छ, न त मास्क र सेनिटाइजरजस्ता स्वास्थ्य सुरक्षाको मापदण्ड नै लागु गरेको देखिन्छ । कोरोनाविरुद्धको लडाई जित्न प्रहरी प्रशासन एक्लैले मात्र सम्भव नभएको प्रजिअ कुरुम्वाङको भनाइ छ ।

‘जनप्रतिनिधी, मिडियादेखि आम नागरिक सबै सचेत हुन जरुरी छ’ उहाँले भन्नुभयो । सेवा लिन जाँदा सेवाग्राहीले मास्कको अनिवार्य र सहि तरिकाले प्रयोग गरेको देखिदैन् । यो सबैभन्दा लज्जाको बिषय हो । सामाजिक दूरीको पूर्णपालना गर्ने र सेनिटाइजरको प्रयोग गर्ने बानिको विकास आममानिसहरुमा बस्न नसक्दा कोरोना भाइरसको जोखिम थप चुलिदै गएको छ । भाइरस संक्रमणको जोखिम बढेसँगै बाँकेकै कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले आफ्नो पालिकालाई लकडाउन गरेका छन् ।

  • १ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech