कोरोनाको उपचारमा प्रयोग गरिने ‘रेम्डेसिभिर’ औषधि आयात गर्न विभागको अनुमति

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७७, आईतवार

काठमाडौं ३२, साउन ।
औषधि व्यवस्था विभागले कोरोनाको जटिल बिरामीको उपचारका लागि प्रयोग हुने ‘रेम्डेसिभिर’ औषधि आयात गर्न अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीका लागि प्रयोग हुने भनिएको औषधि ‘रेमडिसिभिर’ क्लिनिकल ट्रायल अध्ययनका लागि आयातको अनुमति दिन औषधि व्यवस्था विभागलाई शनिबार पत्राचार गरेको थियो ।

सोही अनुसार विभागले रेम्डेसिभिर औषधि आयात गर्न अनुमति दिएको हो । विभागका महानिर्देशक डा.नारायण ढकालले अहिले क्लिनिकल अध्ययनअन्तर्गत राखेर बिरामीलाई दिने र स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) को प्रोटोकल अनुसार प्रयोग गरिने बताउनुभयो । उहाँले सिप्ला, माइलन र हिटेरो कम्पनीबाट उत्पादन भएका रेम्डेसिभिर औषधि मात्र आयात गर्न सकिने पनि जानकारी दिनुभयो ।

उहाँका अनुसार औषधि ऐन २०३५ बमोजिम कुनै पनि नयाँ औषधि क्लिनिकल ट्रायल गर्न विभागको स्वीकृति लिनुपर्छ । उहाँले भन्नुभयो, ‘अहिले रेम्डेसिभिर औषधि ल्याउछौँ भनेर आवेदन आइरहेको छ तर रेम्डेसिभिरको गुणस्तर र मूल्य हेरेर आवश्यकता अनुसार थपिनेछ ।’ यसै साताको अन्त्यसम्ममा उक्त औषधि व्यवसायीहरुले ल्याउने जानकारी आएको विभागले जनाएको छ । नेपालको प्रोटोलकलमा पनि रेम्डेसिभिर प्रयोग गर्न सकिने मात्र भनिएको छ । तर, कुन अवस्थामा प्रयोग गरिने भन्ने स्पष्ट उल्लेख गरिएको छैन् ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे रेम्डेसिभिर कोरोना जटिल बिरामीमा प्रयोग गरिने औषधि भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘यो औषधीलाई विभिन्‍न देशहरुले प्रयोग गरिरहेका छन र नेपालमा पनि प्रयोग भइरहेको छ ।’  आईसीयू र भेन्टिलेटरमा पुगेका बिरामीका लागि यो औषधि प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ ।

तर यसको आपूर्ति चुनौतिपूर्ण छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘लक्षण देखिएको एउटा विरामीलाई निको हुन कम्तिमा ६ देखि ११ भायलसम्म आवश्यक पर्छ ।’ कालोबजारीका कारण यो औषधि निकै महंगो छ । छिमेकी देश भारतमा एक भायलको २ हजार ८ सय देखि ५ हजार पाँच सय रुपैयाँ भारु पर्छ । तर आपूर्ति कम भएकाले पाँच गुणा रकम तिरेर भएपनि विरामीले किन्ने गरेकाले त्यसको असर नेपालमा पनि पर्ने देखिएको हो । भनेकै रुपैयाँमा यो औषधि पाइए करिव ५० हजारमा विरामी निको भएका छन् नत्र पाँच लाखसम्म विरामीले खर्च गर्नु परेको  डा. पाण्डेको भनाइ छ ।

  • ३२ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech