‘संक्रमितको आत्मबलले मेयर चकित’

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

तस्विरः गोविन्द शर्मा

नेपालगन्ज ३१, साउन ।
नेपालगन्जका मेयर धवलशमशेर राणाले आइसोलेसन अस्पताल र सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्थाबारे आफै जानकारी लिनुभएको हो ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन, नेपालगन्ज आर्दशनगर, सिटी प्यालेस र गनापुरको खुला कारागार पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापनबारे जानकारी लिनुभएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । मेयर राणाले आइसोलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

‘आज म सबै आइसोलेसन सेन्टरमा पुगेर त्यहाँका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिए, मेयर राणाले स्वास्थ्य पेजलाई भन्नुभयो–‘सबैको मुहार चम्किलो देखे, संक्रमित सबैले कोरोनालाई जितिसक्नुभएको छ ।’ उहाँले संक्रमितहरुको आत्मबल देखेर आफै चकित भएको बताउनुभयो । उहाँले कोरोनालाई ठूलो हाउगुजीका रुपमा नलिन पनि सबैलाई आग्रह गर्नुभयो ।

सरकारका नियमहरुलाई सबैले पालना गर्ने हो भने कोरोनाबाट सबै जोगिने उहाँको भनाइ छ । ‘मास्क अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र सरसफाईमा विशेष ख्याल गर्ने हो भने कोरोनाबाट जोगिन सकिन्छ’ उहाँले भन्नुभएको छ । बाँकेका विभिन्न आइसोलेसनमा अहिले २ सय ५८ जना बसिरहेका छन् । त्यसमा महिलाको संख्या ८६ रहेको छ ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech