मास्क म्यान वीरबहादुर !

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

एन खड्का- दाङ ३१, साउन ।
दाङ घोराही उपमहानगरपालिका १४ संगम टोलका ३३ वर्षीय वीरबहादुर खत्रीलाई हिंजोआज धेरैले दंगाली मास्क म्यान भनेर चिन्न थालेका छन् । उहाँले दैनिक एक हजारबढी मास्क बाँड्दै आउनुभएको छ । योक्रम जेठ १५ गतेदेखि अहिलेसम्म चलिरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन ग¥यो। हिजोसम्म एक सुरमा चलिरहेको जिन्दगीमा एक्कासी ब्रेक लागेपछि मान्छेहरू के हुने होला भनेर आत्तिए । घरभित्रै बसे।

वीरबहादुरले पनि सुरूमा डराउनुभयो, लकडाउनको पूर्ण पालना गर्नुभयो । तर जिल्लामा जब संक्रमित ह्वात्तै बढे । त्यसपछि भने उहाँले आफूलाई घरभित्र बन्धक बनाएर राखिरहन सक्नुभएन् । परिवारमा कुरा गर्नुभयो । बुवा, आमा, श्रीमती, बुहारीसँग छलफल गर्नुभयो । कोराना भाइरसको संक्रमणबाट जोगाउन आफू घर बाहिर निस्केर स्वास्थ्य सामग्री निस्शुल्क बाँड्ने र सर्वसाधारणलाई सहयोग गर्ने चाहना सुनाउनुभयो ।

वीरबहादुरको कुरामा परिवारका कसैले विमति जनाएनन् । जेठ महिनामा दलबहादुरले छोरालाई स्वास्थ्य सामग्री किन्न ६ लाख नगद दिनुभयो । त्यो पैसाले वीरबहादुरले मास्क, सेनाटाइजरलगायत सामग्री किन्नुभयो । कोरोना भाइरसबाट जोगिन एन ९५ मास्क अति प्रभावकारी छ भन्ने उहाँले सुन्नुभएको थियो । उहाँले त्यही खरिद गर्नुभयो । त्यतिबेला मास्कको चरम अभाव थियो । एउटा मास्कको मूल्य ५०० रुपैयाँसम्म पथ्र्यो । जुन अचेल घटेर १०० रुपैयाँभन्दा पनि सस्तोमा पाइन्छ । अचेल ५–६ रुपैयाँमा पाइने सर्जिकल मास्क त्यतिबेला ३० रुपैयाँ तिर्दा पनि पाउन मुस्किल थियो ।

बीरबहादुरले त्यतिबेला ती स्वास्थ्य सामाग्री किनेर निः शुल्क बाँड्नुभयो । ‘मानवीय सेवाबाहेक अरू मेरो कुनै स्वार्थ छैन,’ वीरबहादुले भन्नुभयो, ‘हामीले जितेर पठाएका नेता बोलाउँदासमेत आएनन् अनि मेरो मनले मानेन र बाहिर निस्केको हुँ।’ सुरूमा उहाँले फ्रन्टलाइनमा खटिने व्यक्तिहरूलाई निःशुल्क एन ९५ मास्क बाँड्दै हिँड्नुभयो । प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार र नेतालाई पहिलो लटमा मास्क दिनुभयो । धेरै पत्रकारलाई त उहाँले घरमै गएर पनि मास्क दिनुभयो । त्यो बापत् उहाँले कुनै पत्रकारलाई समाचार लेख्न भन्नुभयन बरू सामाजिक सञ्जालमा समेत आफूले गरेको काम बारे कुनै कुरा नलेख्न आग्रह गर्नुभयो ।

त्यसपछि स्वास्थ्य संस्थाहरूलाई मास्क बाँड्नुभयो । अनि व्यस्त रहने कार्यालयमा पुग्नुभयो । कर्मचारीलाई समेत मास्क वितरण गर्नुभयो । पछिल्लो समय उहाँ सडकमा हिँड्ने जो कोहीलाई पनि निःशुल्क मास्क बाँडिरहनुभएको छ । मास्क भएर पनि सही तरिकाले नलगाउनेलाई उहाँ मास्क सही तरिकाले लगाउनुका फाइदा भनिदिनुहुन्छ । मास्क नलगाएकालाई मास्क दिएर कसरी लगाउने भन्ने सिकाउँनुहुन्छ ।

त्यसैले उहाँ आजकल दैनिक व्यस्त बजारका चोकमा झोलाभरी मास्क लिएर उभिएको भेटिनुहुन्छ । उहाँले एकैदिनमा एक हजारसम्म सर्वसाधारणलाई मास्क वितरण गर्ने गरेको बताउनुभयो । प्रहरीले मास्क नलगाएर हिँड्ने सर्वसाधारणलाई एक सय रुपैंया जरिवाना तिराउन सुरू गरेपछि सर्वसाधारणलाई मास्क बाड्न सुरू गरेको वीरबहादुरले बताउनुभयो । अंग्रजी साहित्यमा स्नातक वीरबहादुरलाई लाग्छ कतिले चेतना नभएर मास्क लगाएका छैनन् तर केही मास्क नलगाउनुमा आफूलाई बहादुर ठान्छन्। कतिले मास्क दिन खोज्दा त इगोको रूपमा लिनुभयो,’ उहाँले भन्नुभयोे ‘राज्यले गर्ने काम तिमी किन गर्दै हिँड्ने ? भनेर हप्काउन खोज्नुभयो ।’

वीरबहादुर सुरूमा व्यक्तिगत खर्चमा मानवीय सेवामा जुटे पनि पछिल्लो समय भने उहाँको कर्म देखेर विभिन्न व्यक्तिले उहाँलाई मास्क, सेनिटाइजरजस्ता सामग्री किनेर दिन थालेका छन्। अरूले दिएको त्यही सहयोग उहाँले अहिले बाँडिरहनुभएको छ । कति पैसा खर्च भयो भन्ने प्रश्नमा उहाँले मानवीय नाताले गरेको सहयोगको कुरालाई पैसासँग नजोड्न आग्रह गर्नुभयो । ‘यसलाई पैसासंग नजोडौं,’ वीरबहादुरले भन्नुभयो ‘मैले समाजबाट रिटर्न होस् भन्ने उद्देश्यले काम गरेको होइन ।’ उहाँले पैसा जोड्दा त्यसमा स्वार्थ पनि जोडिने हुँदा आफ्नो कर्मलाई फुर्सदको समयमा एउटा सामान्य मानवीय सेवाका रूपमा लिन आग्रह गर्नुभयो ।


Nabintech