भेरी अस्पतालमा जन्मियो करिव ६ किलो बच्चा

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

समिरमान श्रेष्ठ- नेपालगन्ज २९, साउन ।
भेरी अस्पताल नेपालगन्जमा एक महिलाले ५ किलो ८ सय ग्राम तौलको बच्चालाई जन्म दिनुभएको छ । कालिकोट शुभकालिका गाउँपालिका १ छाली हाल दैलेखको आठबिस नगरपालिका ४ राकम बस्ने ३८ वर्षीया धना मगर गएको शुक्रबार स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नु भएको थियो । तत्कालै भिडियो एक्स–रे गर्दा बच्चा ठूलो भएपछि एक्स–रेमा समेत ‘कभर’ नभएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए ।

उहाँको त्यसै दिन विहान ११ बजेतर शल्यक्रियामार्फत बच्चा (छोरो) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. कल्पना थापाले जानकारी दिनुभयो । डा.थापासहित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. युवराज कार्कीसहितको टोलीले शल्यक्रिया गरेको थियो । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था नर्मल रहेको डा.थापाले बताउनुभयो ।

‘भेरीमा यति धेरै तौलको बच्चा पहिलो पटक देखे डा. थापाले भन्नुभयो–‘झन आफ्नै नेतृत्वको टीमले शल्यक्रिया गरेर बच्चालाई जन्मदिदा खुसी लागेको छ ।’ सामान्यतया बच्चा ठूलो हुँदा आमाको स्वास्थ्य अवस्था जोखिममा हुने डा. थापाले बताउनुभयो ।  ‘ठूलो बच्चा पेटमा हुँदा पनि आमालाई जोखिम हुन्छ डा. थापाले भन्नुभयो–‘शल्यक्रियामार्फत सुत्केरी गराउँदा पनि रक्तश्रावको जोखिम हुन्छ तर धनामा कुनै समस्या देखिएन् ।’ चौथो सन्तानका रुपमा धना मगरले सामान्यभन्दा धेरै तौल भएको बच्चाको जन्म दिनुभएको हो ।

योभन्दा अघिल्लो सन्तानका रुपमा जन्मिएका छोरोका समेत तौल चार किलोमाथी रहेको धनाका श्रीमान ललित मगरले बताउनुभयो । भेरी अस्पताल नेपालगन्जका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. युवराज कार्की स्वास्थ्य शिविरको शिलशिलामा राकम पुगेका बेला धनाको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो । पेटको बच्चा ठूलो भएको भेउ पाएपछि डा. कार्कीले नियमित चिकित्सकको सम्पर्कमा रहन आग्रह गर्नुभएको थियो । धना डा.कार्कीसँग नियमित फ्लोअपमा हुनुहुन्थ्यो ।

सामान्यतया बच्चा ठूलो हुनुमा बाबुआमाको तौल र हाइटले समेत प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । यद्यपी मधुमेहलगायतका समस्याका कारण पनि बच्चाको तौल बढी हुनसक्ने चिकित्सकहरुको भनाइ छ । ठूलो बच्चामा सुगरको मात्रा कम हुने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । भेरी अस्पताल नेपालगन्जका बालरोग विशेषज्ञ डा. विष्णु थापाले ठूला बच्चालाई  भोक धेरै लाग्ने भएकाले आमाले पटकपटक दुध चुसाइरहनु पर्ने सुझाव दिनुभयो ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech