कोरोना र रुघाखोकी कसरी थाहा पाउने ?

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

प्रियास्मृति ढकाल- नेपालगन्ज २९, साउन ।
अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या २४ हजार नाघिसकेको छ । करिव सयको हाराहारीमा मानिसहरुले ज्यान गुमाइसकेका छन् । एकातर्फ कोरोनाको त्रास छ भने अर्कोतर्फ मौसमी तथा अन्य फ्लुका कारण पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणहरू देखिने गरेको छ । यही अन्योलकाबीच कोरोना र अन्य फ्लुका कारण देखिएको संकेतलाई पहिचान गर्न सकिने अवस्था छ ? रुघाखोकी र ज्वरोजस्ता समस्या कोरोना र मौसमी फ्लुमा समेत देखिने साझा लक्षण हुन् । गर्मीको समयमा नियमित हुने वर्षामा भिज्दा मौसमी रुघाखोकीको समस्या समेत त्यस्तै मात्रामा देखिएको छ । यस्तो अवस्थामा कोरोनाको लक्षण हो या मौसमी फ्लुका कारण भएको समस्या हो भनेर कसरी छुट्याउने ?

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा.आसिम किदवाई यस्तो अवस्थामा सामान्य रुघाखोकी र कोभिड लागेको पहिचान गर्न निकै कठिन रहेको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘कोहीकोही संक्रमितलाई झाडापखलाको समेत लक्षण देखिएको छ, त्यसैले कोभिडको यही नै लक्षण हो भनेर भन्नै कठिन छ । तर खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र श्वासप्रश्वासमा समस्या हुनु कोभिडको लक्षणभित्र पर्छ ।’

भाइरल फ्लुका कारण समेत यस्तै समस्या आउने हुँदा रुघाखोकी लागेको मान्छेलाई कोरोना या भाइरल फ्लु के हो ? भनेर यकिन गर्न सक्ने आधार कम हुने उहाँको भनाइ छ । डा. किदवाई रुघा र खोकीसँगै लागेको छ भने त्यस्ता मान्छेले तुरुन्त कोरोना परीक्षण गराउनु पर्ने बताउँनुहुन्छ । ‘ज्वरो र रुघाखोकी देखिएपछि कोभिड चेक गराउने डरले धेरै विरामीहरु घरमै बस्नु भएको छ, यो झन जोखिम हो स्वास्थ्य पेजसँगको कुराकानीमा उहाँले भन्नुभयो–‘समयमै चेक गरेर रोगको निदान गर्न सकिन्छ ।’ पछिल्लो समय कोरोना संक्रमितमा लक्षण देखिनुमा पनि उहाँले यसैलाई कारण ठान्नुहुन्छ । ‘रुघाखोकी र ज्वरोले च्याप्दै गएपछिमात्र अहिले विरामीले पीसीआर परीक्षण गर्ने गरेका छन् उहाँले भन्नुभयो–‘यसले लक्षण देखिएका संक्रमित बढेको तथ्य देखाउँछ तर अन्तिम समयमा उपचार गर्दा ज्यानै जोखिममा पर्ने खतरा बढी हुन्छ ।’

अहिले कोरोना संक्रमित बच्चामा हाइपो टेन्सन, प्यारालाइसिस, नसा दुख्ने जस्ता समस्या समेत देखिने गरेको भए पनि कोभिडको मुख्य लक्षण भनेको अहिलेसम्म पनि रुघाखोकी, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु आदि नै रहेको चिकित्सकहरु बताउँछन् । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. खगेन्द्र जंग शाह पनि ज्वरो र रुघाखोकी देखिए तत्काल चेक गर्न सुझाव दिनुहुन्छ ।

‘कोभिड र अन्य फ्लुका विरामीमा सामान्य केही लक्षण फरक भएजस्तो देखिन्छ तर अधिकांश लक्षण मिल्दोजुल्दो भएकाले ज्वरो र रुघाखोकीले च्याप्दै गए तत्काल चेकजाँच गरिहाल्नु पर्ने उहाँको भनाइ छ । ‘अहिले मौसमी फ्लु र कोभिडका कारण लागेको रुघाखोकी छुट्याउन सक्ने अवस्था छैन उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘रुघा र खोकी एकै पटक लागेको छ या घरमा दीर्घरोगी छन् भने खोकी लाग्दा मात्रै पनि हेलचेक्याइँ गर्न हुँदैन ।’

संक्रमणको हिसाबले सामान्य फ्लुभन्दा कोभिड बलियो भाइरसको रूपमा मानिने फिजिसियन डा. शाह बताउँनुहुन्छ । ‘हुन त दुवै भाइरस मानिसबाट मानिसमै सर्ने हुन् उहाँले भन्नुभयो तर सामान्य फ्लुभन्दा कोभिड धेरै बलियो हुन्छ ।’ कोभिड–१९ र मौसमी फ्लुमा लक्षणहरू पनि सामान्य र जटिल किसिमको हुने अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सनले जनाएको छ ।

सो संस्थाका अनुसार कोभिड र फ्लुकोे केही साझा लक्षणहरू हुने गर्छन् । जस्तो ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न कठिनाइ हुनु, थकानको महसुस हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, मांसपेशी दुख्नु वा शरीर दुख्नु, टाउकोको दुखाइ र केही मानिसमा बान्ता र पखाला हुनु पनि कोभिडको कारण हुन सक्ने रिपोर्टमा उल्लेख छ । यद्यपि वान्ता वा पखालाको समस्या वयस्कभन्दा बच्चाहरूमा अधिक देखिने गरेको पनि रिपोर्टले भनेको छ ।

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech