कोरोना भाइरसः लक्षण नदेखिएका सङ्क्रमितहरूको लापरबाहीले कसरी जोखिम बढ्दैछ

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७७, बिहीबार

विमला चौधरी- बीबीसी न्यूज नेपाली ।

नेपालगञ्जमा अधिकांश कोरोनाभाइरस सङ्क्रमितलाई कुनै लक्षण नदेखिएपछि मानिसहरूले यसलाई सामान्य रूपमा लिन थालेको पाइएको छ । सङ्क्रमण पुष्टि भएपनि लक्षण नदेखिनु र दुई हप्ता अलग्गिएर आइसोलेसनमा बसी सकुशल घर फर्किएको देख्दा व्यक्तिगत रूपमा सजगता अपनाउन छाडिएको देखिएको स्थानीय बासिन्दा बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ की रञ्जना रानाले लकडाउनको समयमा समेत नास्ता पसल चलाउँदै आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ मान्छेहरु–‘चाउमिन खान आइराख्छन् पसल नखोलेर पनि के गर्नु ? यही पसलले जीवन धान्ने हो। कोरोना भनेको यस्तै रैछ बुढापाका मात्र मरेको समाचारमा सुनिन्छ अरू सबै निको हुँदा रहेछन् ।’ पहिले विदेशतिरको समाचार सुन्दा निकै डर लाग्ने गरेको तर नेपालगञ्जमा सबैजसो सङ्क्रमित निको भएको देख्दा डर हराइसकेको उहाँ बताउँनुहुन्छ ।

‘सुरु सुरुमा पसलमा बस्दा मास्क लगाइन्थ्यो अचेल मास्क पनि कता फालियो थाहै छैन, उहाँले भन्नुभयो न केटाकेटीले लाउँछन् न मैले।’ रञ्जना जस्ता धेरै स्थानीय बासिन्दाहरूले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सावधानी अपनाएको देखिँदैन । टोलछिमेकमा सङ्क्रमित भेटिए पनि दुई हप्तामा सङ्क्रमण मुक्त भइहाल्ने र अरू कसैलाई असर नगर्ने भ्रम रहेको पाइन्छ।

परिवारमा सङ्क्रमण देखिएपछि सावधानी
यही असावधानीले गर्दा पुनः सङ्क्रमितको संख्या बढ्न थालेपछि सङ्क्रमितका परिवारले भने सजगता अपनाएको पाइन्छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजाललाई सामान्य लक्षण सहितको सङ्क्रमण देखिएपछि उहाँका परिवारले घरमा हरेक क्रियाकलापमा सावधानी अपनाएको बताउँनुहुन्छ । अध्यक्ष रिजालकी भाइ बुहारी अमिता रिजालले घरमा परिवारका सदस्यबीच भौतिक दूरी कायम गर्नुका साथै खाने कुरामा समेत ध्यान दिइएको बताउनुभयो । दाजु भाइहरूको घर अलग अलग भएपनि कम्पाउण्ड एउटै भएकोले परिवारको एकजना सदस्यलाई सङ्क्रमण देखिनासाथ सबैले सावधानी अपनाएको उहाँले बताउनुभयो ।

जेठाजुलाई सङ्क्रमण देखिएपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा भाइको ११ वर्षीय छोरामा लक्षण बिनाको सङ्क्रमण देखिएपछि अहिले सानो सानो कुरामा पनि ध्यान दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘परिवारकै सदस्यबीच कुरा गर्दा पनि कम्तीमा दुई मिटरको दूरी कायम गर्छौँ, मास्क पनि प्रयोग गरेका छौँ, फ्रीजको पानी खानै छोड्यौँ।’ कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा वृद्धवृद्धलाई जोगाउन मुस्किल हुने सुनेको बताउँदै सासु सुगरको बिरामी भएकाले अहिले थप सजगता अपनाइएको उहाँले बताउनुभयो । ‘घरका दुईजना सदस्य आइसोलेसनमा बसिरहेको अवस्थामा आफूहरूले पनि खानपानमा विशेष ध्यान दिइरहेको बताउँदै उहाँले भन्नुभयो–‘बिहान उठ्ने बित्तिकै सबैले गुर्जोको झोल उमालेर पिउँछौँ। एकछिनपछि तुलसी, अदुवा हालेको कालो चिया, खानापछि दिउँसो तातो पानी, राती सुत्नु अगाडि दूधमा बेसार हालेर पिउने गरेका छौँ।’

यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी सुनिता पन्तले श्रीमान्लाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि सजगता अपनाइएको बताउनुभयो । ‘खजुराका सबै सङ्क्रमित निको भएर फर्किरहेको अवस्था छ मेरो श्रीमान्लाई सङ्क्रमण पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन। आशा छ सकुशल फर्किनु हुन्छ’ उहाँले भन्नुभयो । कोरोनाभाइरस सामान्य रुघा खोकी जस्तै भएको भन्दै टोल छिमेकमा यसबारे कसैले गम्भीरता नदेखाएको पन्तले बताउनुभयो । सङ्क्रमण पुष्टि भएपछि हाल आइसोलेसनमा बसिरहेका पन्तका श्रीमान् खगेन्द्र दाहाल कुनै लक्षण नदेखिएपछि आफू छिट्टै सङ्क्रमणबाट मुक्त हुने विश्वास गर्नुहुन्छ ।‘कहिलेकाहीँ त त्यसै आईसोलेसनमा बस्नुपरेको जस्तो लाग्छ। तर सङ्क्रमण भइसकेपछि अरूलाई सङ्क्रमण हुनबाट जोगाउन छुट्टै बस्न आवश्यक छ’ उहाँले भन्नुभयो ।

सङ्क्रमितलाई गर्ने व्यवहार परिवर्तन
अहिलेको नयाँ सङ्क्रमित र पहिलेका सङ्क्रमितको अनुभव भने फरक छ । गत जेठ ८ गते कोरोनाभाइरस सङ्क्रमण भएर मुक्त भएका बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुमबहादुर बस्नेतले आफू सङ्क्रमित हुँदा धेरै मानसिक तनाव झेलेको बताउनुभयो । आफू सङ्क्रमित हुँदा परिवार र आफन्तलाई समेत समाजले अपहेलना गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘आइसोलेसन बसेको समयमा घर परिवार र आफन्तले केही भइहाल्छ कि भनेर दैनिक रुँदै फोन गर्थे। अहिले खासै डराउनुपर्ने अवस्था नभएपनि सावधानी अपनाउनै पर्छ ।’गाउँघरतिर पहिले कोरोनाभाइरसप्रति जति डर त्रास थियो त्यो अहिले हटिसकेकोले सबैबाट लापरबाही भइरहेको अध्यक्ष बताउनुहुन्छ ।‘सुरु सुरुमा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले मास्क प्रयोग गरेको देखिन्थ्यो तर अहिले कसैले लगाउँदैनन्। सामुहिक रूपमा गरिने सार्वजनिक काममा सहभागिता जनाउँदा समेत सजगता अपनाइएको देखिँदैन’ उहाँले भन्नुभयो ।

लक्षण नदेखिएका सङ्क्रमित सम्पर्कविहीन

बाँकेमा पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आउन नचाहेको घटना पनि बढिरहेको पाइन्छ । कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि कतिपय सङ्क्रमितहरू मोबाइल अफ गरेर बसिदिँदा सम्पर्कमा ल्याउन कठिन भइरहेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

साउन २३, २४ र २५ गते पुष्टि भएका सङ्क्रमितमध्ये करिब १२ जनालाई प्रहरी प्रशासनको सहायतामा खोजिएको र अहिले सबैजना सम्पर्कमा रहेको उहाँले ताउनुभयो । ‘पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन । आइसोलेशनमा किन जाने ? सङ्क्रमण पुष्टि भएको थाहा पाउँदा छिमेकीले नराम्रो दृष्टिले हेर्लान् भन्ने मानसिकताले सङ्क्रमितहरू लुकेर बस्न खोजेका छन’ श्रेष्ठले भन्नुभयो । सङ्क्रमणको दर उच्च रहेको बाँकेमा सङ्क्रमितहरू समयमै सम्पर्कमा नआउँदा सङ्क्रमितको सङ्ख्या बढ्ने खतरा रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

 

  • २९ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech